विशाल बस्नेत
महोत्तरी, २८ असोज । नरहरि गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटेलबाट नै प्रारम्भ गर्ने निधो गरे ।
त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटेल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सब थोक मात्र बनेन गौतम होटेल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्रान्ड नै बन्यो ।
हुन त हरेक सफलताको पछाडि असफलता, सङ्घर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ ।
गौतमको अहिले धनुषाको लालगढस्थित करिब ५० करोड लगानीमा खुल्दै गरेको चार तारे होटेलसम्मको यात्रामा आइपुग्दा यस्तै अनेकौँ कथाहरूले भरिपूर्ण छन् ।
निराशा र अनेकाँै असफलताका बाबजुद पनि निरन्तर सङ्घर्ष र धैर्यताले सफलताको शिखरमा पु¥याएको उनको अनुभव छ । त्यसैले त उनले बुझेको जिन्दगी के हो भने सफलताको लडाइँमा सङ्घर्ष र धैर्यता नै मुख्य अस्त्र हुन् ।
४४ वर्ष अगाडि बुबा नरहरिले सञ्चालन गरेको सोही होटेल सञ्चालनको अभिभारा काँधमा बोकेर नयाँपनको खोजीमा दौडेका हिराले चार तारे होटेलसम्म आइपुग्दा असङ्ख्य अप्ठ्यारा चुनौतीहरूको अनुभव सङालेका छन् ।
यही अनुभवले बनाएको परिपक्वता नै गौतम होटेल राष्ट्रिय ब्रान्ड बन्यो भने चार तारे होटेलको रूपमा लाल गढमा अर्को विशाल गौतम होटेलको जन्म भयो ।
सामान्य चिया, नास्ता बेच्ने होटेल देशको नै ब्रान्ड बन्ला भन्ने बुबा स्वयंले परिकल्पना गरेका थिएनन् । ‘छोरा यति धेरै दत्तचित्त भएर लाग्ला र होटेलबाट नै आफ्नो भविष्य बनाउला भन्ने सोचेको नै थिइनँ,’ बुबा नरहरिले भने, ‘मासिक मुस्किलले ५ हजार आम्दानी हुने होटेलमा अहिले दैनिक नै लाखौँ आम्दानी हुन्छ ।’
गौतम होटेलको चर्चा बर्दिबासको चिनारीसँग मात्र जोडिएको छैन होटेलभित्रको हस्पिटालिटी र गुणस्तरीयताले बाह्य र आन्तरिक पर्यटकको आकर्षणलाई ध्यानाकर्षणसमेत गराएको छ ।
मधेस प्रदेशका महत्त्वपूर्ण कार्यक्रमदेखि भिआइपीहरूको रोजाई गौतम होटेल नै बन्नुले पनि हिराको मेहनत र सफलतालाई सङ्केत गर्दछ । ‘हाम्रो होटेलमा देशका शीर्ष नेतादेखि पूर्व राजासम्म बास बसेका छन्,’ हिराले भने, ‘हाम्रो लागि यो पनि गौरव हो ।’
होटेल व्यवसायले हिरालाई यसरी शिखर मा पु¥यायो कि विगतमा यसरी गर्न पाएको भए थप काम गर्न सकिन्थ्यो कि भन्ने गुनासो गर्ने ठाउँ नै रहेन, जस कारण उनलाई सधैँभरि नयाँ गर्न नै हौस्यायो ।
यसैको परिणाम स्वरूप नै चिया नास्ता बेचेर सामान्य जीविकोपार्जन हुँदै आएको होटेललाई ब्रान्ड बनाउनु र सुविधा सम्पन्न शाखाहरू विस्तार गर्नु आफैँमा अनुकरणीय छ ।
७ सय रुपैयाँबाट बुबा नरहरिले खोलेको होटेललाई अर्बैं रुपैयाँको चार तारे होटेल बनाउन हिराले गरेको अथक प्रयास, सङ्घर्ष र मेहनतले होटलमात्र हैन बर्दिबासमा अहिले समग्र गौतम परिवार नै ब्रान्ड बनेको छ ।
सामाजिक कार्यमा आफूलाई उत्तिकै सक्रिय बनाएका हिरा नगर पर्यटन बोर्डको अध्यक्ष हुन् भने होटेल तथा पर्यटन व्यवसायी मधेस प्रदेशका अध्यक्ष पनि हुन् ।
होटेल हबको रूपमा विकास भइरहेको मधेस प्रदेश विशेषसरि बर्दिबासमा मात्र ५० भन्दा बढी ठुलो लगानीमा खुलेका होटलहरु छन् ।
के–के विशेषता छन् चार तारे होटेलको ?
धनुषाको लाल गढमा उद्घाटनको तयारीमा रहेको चार तारे गौतम होटेलमा अहिलेसम्म ३५ करोडभन्दा बढी खर्च गरिसकेको हिरा बताउँछन् । उनका अनुसार करिब ५० करोड लागत अनुमान गरिएको छ ।
७६ वटा कोठा, हल, मनोरञ्जन स्थल र चार तारे होटेललाई चाहिने सम्पूर्ण मापदण्डमा आधारित भएर निर्माण भइरहेको उनले बताए । होटेललाई हरित मैत्री बनाउन कलकत्ता वाट ल्याइएका उच्च अक्सिजन दिने बिरुवा रोपिएको छ । करिब एक बिघा क्षेत्रफलमा निर्माण भएको संरचनामा धेरैजसो हरित मैत्री बनाउने प्रयास गरिएको छ ।
दसैँपछि लगत्तै ४० वटा कोठासहित उद्घाटन गरिने र बाँकी अर्को भवनमा रहेको ३६ वटा कोठा सम्पन्न भएपछि पूर्ण सञ्चालनमा ल्याइने होटेलका व्यवस्थापक नीरज सुवेदीले जानकारी दिए ।
छोराको कर्मप्रति गर्व छ : नरहरि गौतम
होटेल व्यवसायमा छोरा हिराको कर्म र लगनशीलताप्रति आफूलाई गौरवान्वित हुने बुबा हरि गौतम बताउँछन् । ‘मैले छोराप्रति गौरव गर्ने धेरै कारण छन्,’ उनले भने ‘पहिले त उ इमानदार बन्यो ।’
३४ वर्ष अगाडि चिया पसलमा बसेर सहयोग गरेको सम्झँदै नरहरिले छोराले आफूले चलाएको होटेललाई यति ठुलो बनाउला भन्ने सोचेका नै थिएनन् ।
‘ठुला–ठुला होटेलमा जान्थ्यो । त्यति वेला अलि पैसा पनि खर्च ग¥यो,’ विगत सम्झँदै उनले भने, ‘मैले पछि पो थाहा पाएँ, त्यहाँ जानुको उद्देश्य होटेल कसरी चलाउने भन्ने सिक्न पो रहेछ ।’
नरहरि पुराना राजनीतिज्ञ पनि हुन् । २०३९ साल, २०४३ सालमा तत्कालीन बर्दिबास–३ को उनी वडा अध्यक्ष समेत बने ।
२०५२ सालमा छोरा हिराले गौतम होटेल नाम राखेर औपचारिक रूपमा चलाएपछि नरहरिले सन्तुष्टिको श्वास फेरेको बताउँछन् ।