विष्णुराज भट्ट
कार्तिक शुक्ल द्वितीयालाई भ्रातृ द्वितीया, यम द्वितीया र भाइ टिका पनि भन्छन्। सुदूरपश्चिमका कुनै कुनै ठाउँ तिर यस दिनलाई दुत्त्ये भनेर भन्छन् जुन लोकबोलीमा प्रसिद्ध छ।
यमुनाले यसै दिन यमको स्वागत सत्कार गरी यमलाई आफ्ना घरमा बोलाएर भोजन गराएको र यमले यमुना लाई पनि लुगा गहनाले सत्कार गरेको भन्ने कथा पनि पुराणहरूमा छ। कोही बिबाहित दिदीबहिनीहरु आफ्ना दाजुभाइ लाई टिका लगाउन माइती घर पनि जाने गरेका छन्। दाजुभाइलाई सेलरोटी, फलफूल आदि खान दिन्छन् भने दाजुभाइले दक्षिणा दिएर सत्कार गर्ने चलन रहेको छ। यसो गर्नाले दाजुभाइहरुको आयु, सुख ,समृद्धि बढ्ने ,पुष्टि हुने, नरक देख्न नपर्ने, यमुनाको प्रार्थना ले यमराजले यमुनालाई दिएको वरदान अनुसार दिदी बहिनी विधवा हुन नपर्ने हुनाले दुबै थरीको कल्याण हुने भनेर पनि स्कन्ध पुराण र अन्य पुराणमा उल्लेखित छ। (श्रोत – वैदिक हिन्दू धर्मसंस्कृति, २०६५,प्रा.डा. प्रमोद आचार्य,पेज नं २८२-२८३)
केही नेपालका भू भागमा तिहारमा (भाइ टिका /दुत्त्येमा)रातो मखमल फूलको माला लगाउने चलन देखिन्छ। तथापि स्मृति पुराण र इतिहास अनुसार राता फूलको माला लगाउनु अकल्याणसुचक मानिएको छ। स्मरण रहोस् सुदूरपश्चिम क्षेत्रमा भने बैजनी रंगको सुपारी फूल र सुन्दर सुनौला रङ्गको सयपत्री ( टोक्करी) फूलको माला लगाउने प्राचीन कालदेखि नै परम्परा रही आएको छ। “दुत्त्ये खि फुल की माला – दसैं का जमरा ” भनेर देउडा खेलमा गीत गाइएको पनि छ।
पाश्चात्य चलनको कुप्रभावमा परेर केही वर्ष अगाडि यहाँ प्लास्टिकका मालाहरु पनि तिहारमा लगाउने चलन लाग्यो।धनगढी उ म न पा ,कैलालीका मेयर गोपाल हमालज्यूले आफ्नो नगरमा न सड्ने , न गल्ने, जलाउँदा पनि मानव स्वास्थ्य र वातावरणमा पनि हानिकारक कार्बन ग्याँस उत्सर्जन गर्ने प्लास्टिकका मालामा प्रतिबन्ध लगाउनु भयो। तत्पश्चात् अहिले कैलालीमा त प्रभाव पर्ने कुरा स्वभाविक भए पनि सुदूरपश्चिमका अरु ८ जिल्लामा पनि तिहारमा फूलको माला लगाउनु पर्छ भन्ने तर्फ आम जनमानसमा सकारात्मक धारणा बन्दै गएको छ।
जसरी प्लास्टिकका माला प्रतिबन्ध भए, त्यसैगरी विदेशी संस्कृतिका दुष्प्रभावले विद्यालयमा समेत बालबालिकालाई अनुशासनको नाम दिँदै घाँटीमा पासो लगाए झैं गरेर निरर्थक टाई पनि भिर्न / भिराउन प्रतिबन्ध लगाउन धनगढी कैलालीका मेयरज्यू लाई अनुरोध छ।यदि यो टाई लगाउने हिन्दू हरुको पहिरन भएको भए – पशुलाई दाम्लोले बाँधे जस्तो गरी बाँध्ने, गलपासो जस्तो देखिने , घाँटीलाई कसेर असजिलो पार्ने र व्यक्तित्वलाई कुरुप बनाउने व्यर्थको वस्तु भनेर कति आलोचना हुँदो हो? यो फेरि नेपालका कुनैपनि जातजातिको परम्परागत पहिरनमा पनि पर्दैन।
आश्विनकृष्ण त्रयोदशीका दिन काकबलिदानम् (काग तिहार)मनाइन्छ।त्यसै दिनमा आयुर्वेदका ज्ञाता धन्वन्तरी जयन्ती र धन त्रयोदशी ( धन तेरस्) पनि बडो महत्वका साथ मनाइने गरिन्छ। आश्विनकृष्ण चतुर्दशीका दिन कुकुर तिहारमा अचेल नेपालमा कुकुरलाई पूजा गर्ने चलन चलेको छ। जसको कुनैपनि आधार हाम्रा शास्त्रमा छैन। त्यसकारण सबै आस्तिकजनले यसतर्फ विशेष ध्यान पुर्याउन अति आवश्यक छ। श्वानबलिदानम् भनेर कुकुरलाई त्यस दिन खानेकुरा दिने नियम छ। त्यसको मन्त्र पनि पाइन्छ।जस्तो काकबलिदानम् ( काग तिहार )भनेर कागलाई खानेकुरा दिइन्छ, त्यसैगरी अग्नि आदि परिवारजनालाई छुट्याएर कुकुरलाई खानेकुरा , थप यसदिनमा विशेष खाना दिन मन भए त्यो पनि दिन उपयुक्त हुन्छ।
परम्परा हेर्दा पनि सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा छन्द कवि निर्मलकुमार भण्डारीज्यूले कुराकानीको प्रसङ्गमा उहाँका पिताजीले कहिल्यै पनि घरमा कुकुर नपालेको र पाल्न पनि नदिएको भनाई पनि यहाँ विशेष उद्धरणीय छ।वास्तु अनुसार पनि घरको मुख्य ढोकाबाट कुकुर पस्न, भान्सा आदि मुख्य ठाउँमा जानलाई अशुभ मानिएको छ। पितृले हविष्य ग्रहण पनि नगर्ने भनिएको छ।साना बालबालिका घरमा कुकुर सँग खेल्ने क्रममा त्यसको थुक आदि बाट आँखा सम्बन्धी समेत रोग लाग्ने आधुनिक डाक्टरहरुले बताउनु भएको छ। पाल्नै परे पनि घर भित्र नभएर बाहिर छुट्टै पाल्न सकिन्छ।
कार्तिककृष्ण औंसी तिथिको बिहानको समयमा गाईको पूजा गरी गाई तिहार मनाइन्छ भने बेलुकीको समयमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइन्छ।यही नै प्राचीन परम्परा हो। डोटी जिल्लाको जोरायलमा प्रत्येक वर्ष तिथि घट – बढ होइन, सरासर तिथि हेरेर ( डाणा गान्त/ डाणे गन्ती) कार्तिकशुक्ल द्वितीयामा दुत्त्ये मेला लाग्ने स्थानीयवासी एबम् डोटीका पत्रकार झलक पालीज्यूले बताउनु भएको छ।प्रसिद्ध दुत्त्ये मेलाको( तिहार मेलाको) इतिहास हेर्दा पनि यसवर्षको लक्ष्मीपूजा कार्तिक १६ गते शुक्रबार( १ नोभेम्बर २०२४)मा गर्न परम्पराका अनुसार उपयुक्त हुन्छ। अब यहाँ प्रश्न उठ्न सक्छ की डोटी जोरायलको दुत्त्ये मेलाको र उक्त मेलाको अघिल्ला दिनहरूमा पर्ने काकबलिदानम् ,श्वानबलिदानम्, गाई तिहार/लक्ष्मीपूजा,गोवर्धन पूजा/ गोरु तिहार तिथि सँग के सम्बन्ध छ त? हो यही तिथिका कुरा सरासर हेरेर नै दुइटा कर्म एकै तिथिमा नगर्ने भनेर बुझ्न पर्ने मुख्य कुरा हो।
नेपालको काठमाण्डुको नेवार समुदायमा औंसीलाई नै गाई तिहार भनी बिहान गाईलाई लक्ष्मीको रूपमा पनि मानेर पूजा गर्ने अनि बेलुकी चाहिँ लक्ष्मीपूजा गर्दछन्।अहिले भारतमा पनि लक्ष्मीपूजा ३१ अक्टुबरमा गर्ने कि १ नोभेम्बरमा गर्ने भन्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। भारतको इन्दौरमा नोभेम्बर १ मा नै गर्ने भनेर धर्म सभा सम्पन्न भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
शास्त्र प्रमाण हेर्दा पनि वि सं २०८१ सालको स्वाद्ध्यायशाला – कुटुम्ब, काठमाण्डुबाट प्रकाशित पात्रोको पेज नं ३७मा पनि १४ गते काकबलिदानाम् (काग तिहार), १५ गते श्वानबलिदानाम्( कुकुर तिहार), १६ गते गाई तिहार/ लक्ष्मीपूजा भनेर स्पष्ट उल्लेख गरिएको छ।
तसर्थ , नेपालको काठमाण्डुमा नेवार समुदायको परम्परा , सुदूरपश्चिममा प्रचलित डाणागान्त तिथि हेर्ने चलन, डोटीको प्रसिद्ध दुत्त्ये मेलाको इतिहास र हाम्रो वैदिक कालगणनाको नियम अनुसार गाई तिहारको दिन कार्तिक १६ गते शुक्रबारमा लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ। त्यसै दिन दर्शश्राद्ध ,हलो ,ढिकी ,जाँतो र ठेको बार्ने दिन पनि हो।