Naya Update

आफु पिडामा हुँदा पनि सेवा गर्दै हिँड्ने प्रमिता

Advertisement

क्यान्सर लगायतको रोगको नाममा कुनै एनजिओ खोल्ने । थोरै काम गर्ने, त्योभन्दा कैयौँ धेरै आफ्नो स्वार्थ पुरा गर्ने थुप्रै सङ्घ–संस्थाहरू भेटिन्छन् । तर त्यस प्रकारका सङ्घ–संस्थाभन्दा फरक प्रकारले काम गर्छिन्, अभियन्ता प्रमिता  खनाल । काठमाडौँको बुढानीलकण्ठ बस्ने प्रमिता  भन्छिन्, ‘हामी पूर्ण निस्वार्थ भावनाले काम गरेका छौँ । आफ्नै खल्तीबाट पैसा खर्च भएको छ । संस्थाको एक रुपैयाँ पैसा पनि लिएका छैनौ ।’

क्यान्सर सरभाईबरहरुको शरीर आफैमा सेन्सेटीभ हुन्छ । विभिन्न प्रकारका भाइरसहरूले चुनौती बढिरहेको अवस्थामा कसरी समाजसेवामा सक्रिय हुन सक्नुभएको छ भन्दा अभियन्ता प्रमिता  भन्छिन्, ‘सरभाईबरहरुको अवस्था कस्तो छ ? अवस्था हरेर हामी मिलाएर काम गर्छौ । एकदमै हाई रिस्क भएकालाई भिडभाडमा नजान अनुरोध गर्छौ । कतिपय सरभाईबरहरु जबरजस्ती जान खोज्नुहुन्छ । तर पनि भर्चुअल वा भौतिक उपस्थित भएर रचनात्मक प्रकारले गतिविधि गरिरहेका हुन्छौ ।’

रोग लागेपछि निराशा तथा डिप्रेसन 

क्यान्सर रोग लागेपछि एकदमै निराश हुने, आफू अनुकूल परिस्थिति नहुँदा डिप्रेसनको सिकार हुने लगायतको स्थितिबाट सरभाईबरहरुले सङ्घर्ष गरिरहनु परेको अवस्था छ । परिवारले पनि सहयोग र समर्थन नगर्ने तथा छिमेकी तथा समाजले पनि नकारात्मक टिप्पणी गर्ने प्रचलन छ । यस प्रकारको नकारात्मक वातावरणका विरुद्ध नै अभियन्ता प्रमिता र उनले नेतृत्व गरेको संस्था, नेपाल क्यान्सर सरभाईबरस सोसाइटी क्रियाशील भएको उनी बताउँछिन् ।

एक जना सर्वाइवरको घटना सुनाउँदै भन्छिन्,  ‘भर्खरै सामाजिक सेवा सुरु गर्दा एक जना बैनी एकदमै डिप्रेसनमा गइसकेको अवस्था थियो । उनी जीवनसँग निराश भइसकेकी थिइन । अब बाच्न बेकार छ भन्ने गर्दथिन् ।  तर हामीले काउन्सिलिग गर्दा गर्दा उनी पनि हामी जस्तै अभियन्ता भेसकैकी छन् । हामीले क्यान्सर पछि जीवन छ भनेर काउन्सीलिड गरेपछि अहिले उनी पनि अरूलाई काउन्सिलिड गर्दै हिड्छिन ।’ 

अर्को एउटा घटना सुनाउँदै अभियन्ता प्रमिता भन्छिन्, ‘एक जना भर्खरकी युवती, उनको केटा साथीसँग विवाह हुने कुरा हुँदै गर्दा क्यान्सर भयो । ती युवती एकदमै डिप्रेसनमा गइसकेकी थिइन । रोग लागेको थाहा पाएर अरू केटा साथी भए छोडेर जान्थे । उनीहरूलाई निकै सम्झायौ । पछि केटा साथीले पनि उनलाई एकदमै साथ दिए । दुवैको विवाह भयो र बच्चा पनि जन्मियो । अहिले उनीहरूको हाँसी खुसी जीवन चलिरहेको छ ।’ 

 यस प्रकारका थुप्रै सकारात्मक मानसिक परामर्शको काम गरिरहेको अभियन्ता प्रमिता बताउँछिन् । 

प्रमिता आफै क्यान्सर सरभाईबर हुँदा उनका श्रीमान् कैलाश निरौला लगायत परिवारका सदस्यहरूबाट एकदमै राम्रो सहयोग समर्थन पाइन ।  तर कतिपय समाजका सदस्यले नकारात्मक टिप्पणी गरेको तितो यथार्थ सुनाउँछिन्, ‘मेरो बाबालाई त ठिक भएन । तिमीलाई अब के हुने हो ?’ यस प्रकारको नकारात्मक टिप्पणी सहन नसकेको उनी बताउँछिन् । अनि उनले प्रतिक्रिया दिइछन्, ‘तपाईँको बुवालाई ढिलो डाइग्नोसिस भयो त्यसैले बाच्नुभएन । मेरो त बेलैमा उपचार भएको छ नि । मलाई केही हुँदैन ।’

कठोर स्वभावकी प्रमिता 

परिस्थिति अनुसार प्रमिता कठोर पनि हुँदै आएकी छिन् । आजभन्दा १३ वर्ष अघि  टिचिङ अस्पतालका डाक्टर प्रकाश सायमिले उनको डायग्नोसिस गर्दा, स्तन क्यान्सर रोग लागेको पत्ता लाग्यो । उनका श्रीमान् जागिरको सिलसिलामा काठमाडौँ बाहिर थिए ।. रिपोर्ट लिन उनी अस्पताल गइन् । उनी भन्छिन् ,‘अस्पतालबाट आएर मैले आफूलाई कठोर बनाए । घर आएर परिवारलाई मैले आफै सम्हाले । बच्चाहरू सा–साना थिए । अचानक यस्तो खबर आउँदा कसरी सन्तुलन मिलाउने ?

८० वर्ष पुगिसकेको सासू–ससुरालाई आफ्नै मुखबाट मलाई क्यान्सर भयो भन्न एकदम गाह्रो थियो ।’ भन्छिन्– ‘म आफै कमजोर भएको भए सबै कमजोर हुन्थे । म आफै बलियो भएर सबैलाई सम्हाले । सानो बाबुलाई थाहा  थिएन । तर ठुलो बाबुले एकदमै राम्ररी मलाई मोटिभेट गर्‍यो । मलाई हँसाउने, मिठा–मिठा कुरा गर्ने गर्दै मसँग एकदमै घुलमिल भयो ।’ 

रेडियो थेरापीको उपचार नेपालमा सम्भव नहुँदा बाध्य भएर भारतको राजीव गान्धी अस्पताल जानु परेको अभियन्ता प्रमिता बताउँछिन् । तर भन्छिन्, ‘सम्भव भएसम्म औषधोपचार नेपालमै गर्नुपर्दछ । औषधिको लागि सबै भारत जान्छन् । तर हामीले आफ्नै देशको औषधोपचारमा विश्वास गर्नु पर्छ ।’ भन्छिन्–‘आफूले नेपालमै औषधि गरेपछि अरूलाई पनि त्यही प्रकारको हौसला हुन्छ ।’

कहाँबाट आयो ऊर्जा ?

आफै सरभाईबर भएर पनि निरन्तर रूपमा सामाजिक सेवा क्रियाशील भइरहने प्रेरणा कहाँबाट आयो भन्दा अभियन्ता प्रमिता भन्छिन्, ‘मेरो बुवामा पनि समाज सेवाको भावना थियो । मेरो बुवाको गुण पनि मलाई सरेको जस्तो लाग्छ ।’ भन्छिन्– ‘जब म रेडिएसनको उपचार सकेर नेपाल आए । डाक्टर सुदिप श्रेष्ठ ज्यूले सिद्धि चन्द दिदीज्यू सँग भेट गराउनु भयो ।’ डाक्टर सुदिपले हामीलाई हौसला दिँदै, ‘तपाइहरू जस्तो साहसी सरभाइबर्सहरुले क्यान्सरका बिरामीहरू लाई हौसला दिनुपर्छ । हामी सबै मिलेर यसको सुरुवात गरौँ, भन्नुभयो ।’ 

अभियन्ता प्रमिता भन्छिन्, ‘डा.सुदिपको सहयोग र सहकार्य, सिद्धि चन्द दिदीको प्रेरणाले मेरो हौसला झनै बढ्दै गयो ।’ त्यही हौसला र प्रेरणाको आधारमा ‘सिद्धि चन्द दिदी, मिना तुलाधर दिदी,  अन्जुकमल दिदीले अनौपचारिक रूपमा सुरुवात गरिसक्नु भएको समाज सेवाको कार्यलाई निरन्तरता दिने उद्देश्यले मेरो घरमा एउटा सानो मिटिङ भयो । वहाँहरूको साथै म र बिनु केसी  गरी पाँच जना भएर यो कार्यलाई निरन्तरता दिने निधो गर्‍यौ ।’ 

सुरुमा कल्याणी ब्रेष्ट क्यान्सर क्लिनिकको रूपमा गतिविधि अगाडि बढाइयो । नियमित रूपमा भोलेन्टेरी रूपमा काउन्सीलीङ्ग सेवामा आबद्ध भयौँ । सिद्धि चन्द दिदी र म, ६ वर्षसम्म नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा क्यान्सरका बिरामीहरूलाई मनोपरामर्श सेवा प्रदान गर्दै आयौ । विभिन्न स्वास्थ्य शिविरका साथै जनचेतनामूलक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै एउटा बलियो आधार बसाल्यौँ । यो सेवा अत्यन्त प्रभावकारी भयो । बिरामीको चाप पनि बढ्दै गइरहेको थियो । पालै पालो क्यान्सरका बिरामीहरूलाई काउन्सीलीङ्ग गर्ने प्रथा बसाल्यौँ । ६ वर्षसम्म काम गर्दै जाँदा यस प्रकारको सेवा कुनै एउटा अस्पतालमा मात्र नभएर सम्पूर्ण अधिराज्यभरि समेट्नु पर्छ भन्ने भावनाले प्रेरित भई नेपाल क्यान्सर सरभाईबरस सोसाइटिको स्थापना गरेको बताउँछिन्, अभियन्ता प्रमिता । 

समाजशास्त्रमा एमए उत्तीर्ण गरेकी अभियन्ता खनाल, माओवादी द्वन्द्व कालमा  ३० भन्दा बढी जिल्लाहरूमा समाजसेवा गरेको सङ्घर्षको कथा सुनिउछिन । स्तन क्यान्सर रोग लागिसकेपछि पैसालाई मात्र महत्त्व दिने होइन, यो रोगसँग सङ्घर्ष गरिरहेकाहरूलाई मानसिक परामर्शको क्षेत्रमा लाग्नुपर्छ भन्ने भावना विकास भएको, उनी बताउँछिन् । त्यही सोच र भावनाको आधारमा विशुद्ध रूपमा क्यान्सर विजेताहरूको लागि खोलिएको संस्थामा उनी सक्रिय छिन् । 

सर्वाइवरहरको चुनौती 

२०७४ चैत्र २६मा स्थापना गरिएको नेपाल क्यान्सर सरभाईबरस सोसाइटीले आगामी आश्विन ६ गते आफ्नो पाँचौँ साधारण सभा गर्दै छ ।

क्यान्सर सरभाईबरसहरुको अबको चुनौती के छ ? उनी भन्छिन्, ‘अझ पनि जनचेतनाको अभावले थुप्रै सर्वाइवर हरू, पिडा र  रोग सहेर बस्ने प्रचलन छ । समयमै उपचारमा नगर्दा रोगले झनै आक्रमण गर्दै गइरहेको अवस्था छ ।’ भन्छिन्–‘ जनचेतना एकदम आवश्यक छ । स्कुलको पाठ्यक्रममा समेत यो विषयलाई राखेर जनचेतनालाई अझ व्यापक बनाउन आवश्यक छ ।  क्यान्सरको उपचार महँगो छ । सरकारले केही गरेको छ, त्यो पर्याप्त छैन । दुर्गम गाउँहरूमा जनचेतनाको अभावले रोग बढ्दै गइरहेको अवस्था छ । अहिले सरकारले एचभीपि खोप दिएको छ । तर त्यसको बारेमा पनि जनचेतना पुग्न सकेको अवस्था छैन ।’

प्रमिताले नेतृत्व गरेको संस्थाले यो वर्ष मात्र ६ वटा स्वास्थ्य शिविर सञ्चालन गर्‍यो ।  ६ वर्षको अवधिमा लगभग आठ हजार महिलाले पाठेघरको जाँच गराए । केहीलाई क्यान्सर देखिएपछि उपचारको लागी सहजीकरण गरेको अभियन्ता प्रमिता बताउँछिन् । संस्था खोलेदेखि १५ वटा विद्यालय तथा कलेजका लगभग पन्ध्र सय भन्दा बढी छात्राहरूलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पनि उनी बताउँछिन् । भन्छिन्, ‘स्कुलका बालबालिकाहरू मार्फत समाज, छिमेकी र परिवार मा समेत जनचेतना पूर्याउन सफल भयौँ । लगभग २५ जना क्यान्सरका बिरामीलाई उपचारको लागि आर्थिक सहयोग जुटाउन सफल भयौँ ।’ 

त्यस्तै समाज डेन्टल, आँखाको उपचारको लागी मेट्रो आइ केयर, दाँतको लागी मधुमारा डेन्टल क्लिनिक विराटनगर, एमआरआई र अल्ट्रासाउन्ड आदिको लागी कुण्डलिनी डाइग्नोष्टि सेन्टर, सिलिकन ब्रेष्टको लागी मोबिलीटी नेपालसँग सम्झौता गरी क्यान्सर बिरामीलाई सहुलियतमा उपचार गराउन सहजीकरण गरेको उनी बताउँछिन् । 

 अन्त्यमा

यसरी निस्वार्थ भावनाले समाजसेवामा सक्रिय भएकाले, पाँच जनाबाट सुरुवात भएको संस्थामा अहिले सय भन्दा बढी क्यान्सर सरभाईबरसहरु जोडिएकाे अभियन्ता प्रमिता बताउँछिन् । भन्छिन्, ‘कहिले काँही अरूलाई हौसला दिँदा दिँदै निकै उतार चढावको स्थिति पनि सिर्जना हुन्छ ।  त्यस्तो बेलामा संस्थाकी कोषाध्यक्ष बिनु केसीले आफूलाई सधैँ हिम्मत र हौसला बढाउँदा फेरि पनि सहज र सरल स्थिति सिर्जना हुन्छ ।’

[नेपाल क्यान्सर सरभाईबरस सोसाइटीकी अध्यक्ष प्रमिता खनालसँगको कुराकानीमा आधारित]

–समीर सिंह

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search