भैरहवा, १७ असोज । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्दै सहकार्यको भावना मै रही आफैमा प्रतिस्पर्धात्मक बनाउन भैरहवामा आठौँ हब सम्मेलन भएको छ ।
क्वेस्ट नेपाल सिद्धार्थ हबको आयोजनामा स.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औँ सम्मेलन भैरहवाको श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा भएको हो ।
देशभर विभिन्न निजी क्षेत्रका विद्यालयहरूको सहभागितामा २५ वटा हब रहेकोमा नेपालकै एक मात्र सामुदायिक विद्यालयहरूको सक्रियतामा सिद्धार्थ हब गठन भएको छ । १० वटा सामुदायिक विद्यालय रहेको सिद्धार्थ हब अन्तर्गतका ६ वटा विद्यालयको विद्यार्थीको सहभागितामा सम्मेलन भएको छ । विद्यार्थीहरूको शैक्षिक महोत्सवको रूपमा रहेको एस.क्यु.सी.(विद्यार्थी गुणीय चक्र) सम्मेलनमा पर्यवेक्षकको रूपमा रुपन्देहीका ३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतिस्पर्धात्मक यो सम्मेलनमा सहभागी विद्यालयहरूबाट २ सय ३६ जना विद्यार्थीले भाग लिएको क्वेस्ट नेपाल सिद्धार्थ हवका संयोजक रवि राज काफ्लेले जानकारी दिए ।
एस.क्यु.सी.अन्तरगत विद्यार्थीहरूको स-साना समूह बनाई जसले विद्यार्थीका समस्या छनौट गरी समस्याका कारण, मूल जरा, पत्ता लगाई समूहमा मिलेर समस्या समाधानका उपायहरू आफै एवम् अरूको सहयोगमा पहिल्याउने र ती समस्या समाधान गर्न सकुन् भन्ने कार्यक्रमको उद्देश्य हो । सम्मेलनमा हाजिरी जवाफ, हिज्जे, कथा लेखन, चित्रकला, कोलाज लगायतको विधामा प्रतियोगिता गराइएको आतिथ्य विद्यालय श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले बताए ।
सम्मेलनले विद्यार्थीहरूमा सहकार्यको भूमिका अभिवृद्धि हुनुका साथै प्रतिस्पर्धा भन्दा समन्वयको भावना जागृत हुने बताए । विद्यालय विद्यालय भन्दा पनि सबै विद्यालयको विद्यार्थीहरूलाई सम्मिलित गराई समूह समूहमा प्रतियोगिता गराइएकोले प्रभावकारी रूपमा विद्यार्थीहरूको क्षमता विकासका साथै सृजनशील र राष्ट्रिय रूपमा प्रतिस्पर्धात्मक हुने बताए ।
कक्षा ४ देखि १० कक्षा सम्मको विद्यार्थीहरूको सहभागिता हुने क्वेस्टमा १० जना सम्मको समूह विद्यार्थी आफैले बनाई आफ्ना वरिपरि भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर समाधान गराइन्छ । रुपन्देहीमा २०७८ साल देखि स्थापना भई पहिलो वर्ष शान्ति नमुनामा सम्मेलन भइसकेको छ भने दोस्रो लीलाराम माविमा भएको सिद्धार्थ हबका सचिव प्रकाश चापागाईँले जानकारी दिए । दश जना मास्टर प्रशिक्षकहरूले सम्मेलनमा निर्णायकको भूमिका रहेको थियो ।
सम्मेलनमा सहभागीहरू मध्येबाट छनोट भई आगामी मङ्सिर ८ गते देखि चितवनमा हुने राष्ट्रिय सम्मेलनमा भाग लिन पाउने छन् । देशभरका २५ ओटा क्षेत्रबाट छानिएका विद्यार्थी प्रतिनिधि यसमा सहभागी छन् । सम्मेलनमा विद्यालयका प्रतिनिधिले आफ्ना विद्यार्थीको गुणीय चक्रमार्फत गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने छन् । यस्तै उनीहरूले कसरी समस्याको पहिचान, विश्लेषण र समाधान गरे र उनीहरूले आफ्नो व्यक्तित्व विकास तथा विद्यार्थीको गुणीय चक्रबाट अन्य फाइदा के–के पाए भन्नेबारे देखाउने छन् ।
सम्मेलनमा विद्यार्थीहरूले विभिन्न गतिविधिमा भाग लिने बताइएको छ । विद्यार्थीहरूले कोलाबोरेटिभ कोलाज, चित्रकला, कथा लेखन, हिज्जे प्रतियोगिता, हाजिरी जवाफ, प्यानल डिस्कशन, मनसा स्मृति सर्वगुण व्यक्ति अवार्ड लगायतमा सहभागी हुनेछन् । त्यस्तै, विद्यार्थीहरू विज्ञानसम्बन्धी कार्यशाला, मोडल मेकिङ, स्पोकन वर्ड पोइट्री, फोटोग्राफी, खेल तथा गीत, समूह कार्य, जुम्बा नृत्य, योग तथा ध्यान आदि कार्यक्रममा पनि सहभागी हुनेछन् ।