काठमाडौँ, कार्तिक ३ गते । । एसीसी यु—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई हराउन सके यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा प्रवेश गर्नेछ । मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा शनिवार नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रिमियर कपमा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपमा छनोट हुने प्रावधान छ । शनिवारको खेलमा जापानलाई हराउन सके नेपाल फाइनलमा प्रवेश गर्नुका साथै एसिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तान सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि शनिवार नै संयुक्त अरब इमिरेट्स (युएई) र सिंगापुरबिच खेलिने छ ।
छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।