* डा.कौशिला रिसाल
हामीलाई कहिलेकाहीँ साना विषयले मुख्य भाव पहिल्याउन र खुसी हुन मद्दत गरेको हुन्छ । कतिपय सानै घटना वा प्रसङ्गले पनि समस्या निम्त्याइरहेका हुन्छन् । हामीलाई तनावमा पुर्याउने र खुसी हुन मद्दत गर्ने विषय वा प्रसङ्गहरू सानै हुन्छन् । जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र व्यक्तिगत समस्याहरू ससाना हुन्छन् । धेरै दिनसम्म त्यसको सजिलै समाधान नहुँदा हाम्रो दैनिक कार्यमा अवरोध सृजना हुन्छ । यसको अर्थ समस्या वा घटना ठुला हुँदैनन् भन्ने चाहिँ होइन । जब कि म ससाना विषयमा लेख्दैछु । यथार्थमा हामीले समस्यालाई कुन रूपमा लिन्छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । हामीले कयौँ पटक ससाना कुरामा ध्यान नपुर्याउदा जीवनमा अरूबाट मात्र नभएर आफ्नैबाट पनि धोका पाएका हुन्छौँ । हामीले हाम्रो अवस्थालाई दृष्टिगत गरेर समय र परिस्थितिअनुसार चल्न नसक्दा यस्तो भएको हो ।
कुनै घटना, सन्दर्भ वा विषयवस्तु कसैका लागि सानो लाग्छ भने कसैका लागि त्यही विषय, घटना वा सन्दर्भ ठुलो हुन्छ । कसैलाई दुई छाक खान पाउनु ठुलो कुरा हुन्छ कसैलाई विलासिताका सामग्री जोड्नु पनि सानै हुन्छ । कोही छाप्रोमा पनि आनन्दले निदाउँछ भने कसैलाई महल, गाडी या अन्य सुख सुविधा र भोगविलासका सामग्री हुँदा पनि सन्तोष हुँदैन । के मानिसका अनिवार्य आवश्यकता र उपभोगभन्दा बाहिरका कुनै पनि वस्तुलाई साना या ठुलाको कसीमा राखेर हेर्नु जायज छ त ? कसैले क्याटवाकमा फेसन सो गरिरहेकी महिलालाई राम्री देख्छ भने कसैले बालुवा चालिरहेकी महिला बढी सौन्दर्यशील देख्छ । सानो, ठुलो, राम्रो या नराम्रो यी सबै मानिसको आफ्नो दृष्टिकोणमा भर पर्ने कुरा हुन् । कुनै घटना, दृश्य या क्रियाकलापप्रतिको दृष्टिकोण निर्माणमा मानिसभित्र रहेको चेतनाले काम गरेको हुन्छ ।
मानिसहरूले सजिलै आफूसँग जे छ त्यसैमा खुसी हुन सिक्नुपर्छ भन्दछन् । तर व्यावहारिक रूपमा खुसी नै भएर बस्ने कति होलान् त ? भन्न निकै सजिलो भए पनि वास्तविकता धेरै परको कुरा हो । जीवनको स्वाभाविकतालाई बुझेर पनि मानिसले आफूलाई नियन्त्रित गर्न सकेको हुँदैन । यसको मुख्य समस्या सरल विषयलाई जटिल हिसाबले बुझ्नु र जानेर पनि व्यवास्ता गर्नु हो । कस्ता कुरामा हामीले सन्तोष लिने वा सन्तुष्ट हुने भन्ने विषय महत्त्वपूर्ण र सान्दर्भिक हुन्छ ।
आगाको झिल्को सानो भए पनि निकै शक्तिशाली हुन्छ । हामीले बोलेका शब्द थोरै भए तापनि महत्त्वपूर्ण हुन्छन् । कतिपय सन्दर्भमा दिनभरि गरिएको भाषण पनि महत्त्वहीन हुन सक्छ । शब्द वाणी अर्थात् शब्दको अभिव्यक्तिमा घात र प्रशंसा दुवै शक्ति महत्त्वपूर्ण रहन्छन् । कहिलेकाहीँ एउटा शब्दले पनि मानिसको जीवनलाई फरक धार र अवस्थामा पुर्याउँदछ । किनकि त्यो शब्दले जीवनलाई भिन्न रेखा वा घुम्तीमा पुर्याएर जीवनमा ठुलो परिवर्तन ल्याइदिन सक्तछ । कुनै काम वा कुरा साना ठुला हुँदैनन् तथा ती सबै सत्यता र सान्दर्भिकताले बोध गर्ने हुन् । कुनै पनि कुराको सकारात्मक र नकारात्मक पक्ष हुने भएकाले यसलाई हामीले कसरी हेर्छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
हामीले उचित समयमा गरेको सानो कामले पनि अरूको जीवनमा सकारात्मक प्रभाव पार्दछ । एक किसिमको ऊर्जा दिन्छ । तर हामीले यस विषयमा ध्यान दिएका हुँदैनौँ । जस्तै– कुनै व्यक्तिले राम्रो काम गर्दा, पढाइमा सफलता हासिल गर्दा, उद्यम व्यवसायमा उन्नति गर्दा हामी उसलाई समयमा स्याबासी दिन सक्दैनौँ । ताली बजाउन र प्रशंसा गर्न ढिला गर्छौँ । जे कुरा पनि समयमा भयो भने त्यसको छुट्टै महत्त्व रहन्छ । समय गुज्रिएपछि दिएको स्याबासी, प्रशंसा या धन्यवाद अघाएको बेला दिएको स्वादिष्ट भोजनजस्तै हुन्छ ।
कहिलेकाहीँ साना भनेर छाडिएका र ध्यान दिन नसकिएका कुराले ठुला ठुला दुर्घटना निम्त्याउन सक्छन् । कुनै काम कर्तव्यभित्र र कुनै अनिवार्यभित्र पर्दछन् । जीवनमा कर्तव्य र आवश्यकतालाई हेरेर काम गर्नुपर्ने हुन्छ । आफ्नो सन्तान र परिवारप्रतिको दायित्व अनिवार्य हुन्छ । वृद्ध आमाबाबुको स्वास्थ्यको हेरचाह गर्नु छोराछोरीको पहिलो दायित्व हुन्छ । गाउँ, समाज वा नजिकका आफन्तकोमा विवाह, उत्सव आदि सुख दुःखका कार्यहरूमा उपस्थिति भएर सान्त्वना, हौसला र शुभकामना दिनु राम्रो भए पनि दबाबमा अनिवार्य गरिने कार्य राम्रो होइन । कसैको प्रलोभनमा परेर, दबाबमा आएर कसैलाई आर्थिक भार पार्ने काम गर्नुहुँदैन । यसैले अनुकूल हुँदा, समय मिल्दा, आफूलाई सजिलो हुने गरेर कार्य गर्नुपर्छ । यस्ता कुरामा नयाँ पुस्तालाई पनि जिम्मेवारी बनाउनुपर्छ ।
हामीलाई मन नपर्ने वा गर्न मन नलाग्ने कुनै पनि काम कसैको दबाबमा गर्नै पर्छ भन्ने छैन । जुनसुकै काम कर्तव्यकै लागि वा आफ्नो लागि गरिन्छ । अनावश्यक दबाबका कारण मन नलागे पनि बोल्नुपर्ने, खान मन नलाग्दा खानुपर्ने बाध्यता केही पनि छैन । कसैले दबाब सृजना ग¥यो भन्दैमा आफूलाई गर्न मन नलागेको काम गर्नुपर्छ भन्ने पनि छैन । हामीले गरेका कामले कसैलाई हानी पुर्याउनु हुँदैन ।
मानिसलाई भन्न सजिलो छ फलानोले त्यति सानो कुरामा पनि किन तनाव लिएको होला ? कस्तो आत्मबल कमजोर भएको ? फलानो त कति घमन्डी रहेछ । हामी अर्कालाई स्वभावअनुसार अनेक विशेषण दिन्छौँ । रिसाहा, ईर्ष्यालु, इखालु आदि आदि । कहिलेकाहीँ हामीले कसैका बारेमा गरेको अनुमान झुटो साबित भइदिन्छ । किनकि हामी उसको नजिक पुग्न सकेका हुँदैनौँ । एक क्षणको व्यवहारलाई लिएर हामीले कसैलाई राम्रो, नराम्रो वा खराब र असलको विशेषण लगाइदिन्छौँ । मानिसको जीवनमा विभिन्न परिस्थितिको सृजना भएको हुन्छ । कुनै व्यक्ति कसैको लागि असल, सहयोगी र मायालु भइदिन्छ भने त्यही व्यक्ति कसैका लागि कन्जुस, असहयोगी सिद्ध हुन सक्छ । समस्या अरूमा मात्र होइन हामी आफैसँग पनि हुन्छ । समय र परिस्थितिअनुसार मानिसको व्यवहार फरक हुने हुँदा त्यसैअनुरूप व्यवहार गरेर अगाडि बढ्न उचित हुन्छ ।