काठमाडौँ,१७ कात्तिक । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी का दुईवटा विद्युत् वितरण सब स्टेसनको उद्घाटन भएको छ ।
जर्मन सरकारद्वारा केएफडब्लू विकास बैङ्कमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिका स्थानमा निर्माण गरिएका विद्युत् वितरण सब स्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल शमशेर हेलिस्टनले संयुक्त रूपमा रातामाटे सब स्टेसन उद्घाटन गरे ।
यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्त रूपमा कालिका स्थान सब स्टेसनको उद्घाटन गरेका थिए । उक्त सबस्टेसनहरुबाट स्थानीय रूपमा विद्युत् आपूर्ति दिइएको छ ।
जर्मन सरकारले केएफडब्लू विकास बैङ्कमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरण प्रणाली सञ्जाल पुनर्निर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो (करिब ७० करोड रुपैयाँ) अनुदान रकम दिएको थियो । उक्त अनुदान रकमबाट दुई वटा वितरण सब स्टेसन, ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको छ । यसबाट दुई जिल्लाका १ हजार २ सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने छन् ।
उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरू निर्माणमा केएफडब्लरुको ठुलो सहयोग रहेको उल्लेख गर्दै सब स्टेसन निर्माणबाट त्यस क्षेत्रका उपभोक्ताहरूले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाइरहेको बताए । उनले विद्युत् आपूर्ति सुधार भएपछि यस क्षेत्रमा घरेलु उद्योग खोल्न प्रोत्साहन मिल्ने बताए ।
केएफडब्लूका हेलिस्टर्न र क्रिगरले नेपाल र जर्मनीबिचको सम्बन्ध ६० वर्षभन्दा बढी पुरानो रहेको ऊर्जा क्षेत्रमा ४० वर्षदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अब विद्युत् प्रसारण र वितरणतर्फ सहयोग गर्ने बताए ।