
* सुवास देवकोटा
आमा
तिमिलाई फेरि एक पटक भेट्न पाउने भए,
तिम्रो साथ लगेर
परालको भारी बोक्न गाउँ बेसी धाउने थिए
तिमीले भुटेको मकै चपाउँदै
बाख्रा चराउन पारि वन पुग्ने थिए!
**
आमा!
तिमीलाई फेरि एक पटक भेट्न पाउने भए
तिम्रो आँखामा छल्किने पीडाका आँसु पुछ्ने
थिए
तिमी कोदो कोदो रोप्न मेला जाँदा
म पनि डोकामा कोदाको बीउ बोकेर
मेलामा सघाउन पुग्ने थिए!
**
आमा,
तिमीलाई साँच्चै भेट पाउने भए
तिम्रो पाउमा टाउको राखेर
जीवनमा भए गरेका गल्तीहरूका लागि
क्षमा माग्ने थिए!
तिम्रा हात शिरमा राखेर
अर्को जन्ममा पनि
पुन:तिम्रै छोरो भएर जन्मन पाउँ भनेर
आशीर्वाद माग्ने थिए!
बिन्ती गर्ने थिए!
*
आमा!
तिमीलाई यो जुनीमा भेट्न पाउने भए
हाम्रालागि तिमीले भोगेका
जीवन कष्ट र बुहार्तनहरूबारे सोध्ने थिए
तिम्रा धाँजा फाटेका पैतालाहरू
सुमसुम्याउँदै फेरि एक पटक
आमा भनेर बोलाउने थिए!
**
तर आमा!
अब तिमी छैनौ यो लोकमा,
मात्र तिम्रा स्मृतिहरू शेष छन्!
तिम्रा स्नेह र मायाका झल्को मात्र बाँकी छन्
**
अब त आमा
हामीसँग तिम्रा गुन तिर्न नसकेका
पीडा र गुनासाहरू मात्र
सजीव छन्!
*
आमाको माया जीवनको आधार,
अपरम्पार!
आमा बिना खाली संसार!