Naya Update

मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

Advertisement

विषय प्रवेशः  मैथिली साहित्येतिहासको सामान्य अवलोकन

मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । ज्ञात चौरासीवटा सिद्ध कविहरुमा सिन्धुदेखी कोशी किनारसम्मका कविहरू छन् । यिनीहरुको कालखण्ड दुईसयदेखि दुईसय पचासवर्ष अनुमान गरिन्छ । बज्रयानी सिद्ध साहित्यको परम्परालाई पछि शैव नाथ सम्प्रदायले निरन्तरता दियो । फरक कति थियो भने सिद्ध सन्तहरूको विपरीत शैव नाथ योगीहरू जगतलाई वृथा माया र पापको स्रोत र मोक्षको निम्ती जागतिकतालाई त्याज्य ठान्थे ।

अपभ्रंंश भाषाका यी कविहरुको भाषा हेर्दा अधिकांश पूर्वी (दक्षिणी नेपाल, नारायणीभन्दा पूर्व ) र भारतको बिहार र उत्तरप्रदेश प्रान्तका बुझिन्छन् । यसमध्ये पनि प्रथम सिद्ध कवि ‘सरहपा’ (७५०ई.) र यिनको शिष्य ‘शबरपा’ र ‘भूसुक‘(शान्तिदेव )को भाषा मैथिली, र भोजपुरीसँग बढी नजीक देखिन्छ ।

‘सरहपा’को एउटा उदाहरण हेरौँ :

एत्थु से सुरसरि जमुना, एत्थ से गंगा साअरु ।

एत्थु पअुुाग बणारसि, एत्थु से चन्द्र(दिवाअरु ।।

खेत्तु(पीठ(उपपीठ, एत्थु मइं भमइ परिठ्ठओ ।

देहा(सरिसअ तित्थ, मइ सुह अण्ण दिठ्ठओ ।।

(बौद्ध ओ दोहा गान, हरप्रसाद शास्त्री /श्रोत ( राहुल निबन्धावली , राहुल सांकृत्यायन)

छाया अनुवाद (मैथिलीमा) :

एहि स सुरसरि जमुना, एही स गंगा सागर ।

एहे प्रयाग बनारस, एहि स चन्द्र(दिवाकर ।।

क्षेत्र (पीठ(उपपीठ, एहिमे भरमय परिस्थिति ।

देह सदृश तीर्थ, नइँ हम आने देखल ।।

नेपाली अनुवाद :

येसबाट सुरसरि जमुना, येसैबाट गंगासागर ।

यो नै प्रयाग बनारस, येसबाट चन्द्र दिवाकर ।।

क्षेत्र(पीठ(उपपीठ, येसैमा डुल्दछ परिस्थिति ।

देहजस्तो तीर्थ, मैले कतै अन्य देखिन ।।

अझ सरहपाका शिष्य भुसुक (शान्तिदेव)का कविताहरुमा कयौँ त विद्यापतिकालीन (१४औँ शताब्दी) मैथिलीसंग सामीप्य रहेको देखिन्छ । उनको एउटा गीतका केही पंक्ति हेरौँ :

“विरमानन्द विलक्षण सूध । जो एथु बूझइ सो इथु बुध ।।

भुसुक भनइ मह बुझिआ भेलेँ । सहजानन्द महा(सुख लेलेँ ।।”

(बौद्ध ओ दोहा गान , हरप्रसाद शास्त्री/श्रोत ( राहुल निबन्धावली, राहुल सांकृत्यायन)

छाया अनुवाद :

विरमानन्द विलक्षण शुद्ध । जस्ले यो बुझ्छ त्यो यहाँ बुद्ध ।।

भुसुक भन्छ म बुझ्ने भएँ । सहजानन्द महासुख पाएँ (लिए) ।।

स्थानीय भाषा, बोली र परम्परा (गोरखनाथबाट विकसित भगतै, धामी(झाँक्रीको मन्त्र), चर्यागीत, मुद्रागीत र स्थानीय टुनामुनामा सुरक्षित तर प्रमाणिकरुपमा हराएका यी सिद्ध कविहरुलाई सन् १९१६ मा महामहोपाध्याय हरप्रसाद शास्त्रीले उद्धार गरे । उनले काठमाँडौबाट खोजी गरेर यी सिद्ध कविहरुका दोहाकोष र फुटकर कविता र गीतहरुको संग्रह ‘चर्याचर्य विनिश्च’ लाई ‘बौद्ध ओ दोहा गान’को नामबाट बंगालीमा छापे ।

मैथिलीमा ‘सरहपा’ पछि साहित्यिक बिम्ब, प्रतीक र राग(लय निरन्तर विकसित हुँदै गएको पाइन्छ । मैथिलीका महाकवि विद्यापतिले रागात्मकता संस्कृत भाषाका जयदेवसँग पैँचो लिएपनि शिल्पको चामत्कारिकता र लोकभाषी कोमलता सान्ध्य भाषा (द्वीअर्थी) का धुरन्धर सिद्ध कविहरुबाट नै लिएको देखिन्छ ।

मैथिली साहित्यको आदिकालमा देखिएका विविध विचार, प्रवृत्ति, दृष्टिबिन्दु र जीवनशैली एक(आपसमा जुझ्दै बिम्ब, प्रतीक र रागात्मकताको यात्रा चौधौँ शताब्दीको प्रारम्भमा सिमरौनगढ (नेपाल)मा कर्णाटवंशी राज्याश्रित कवि ज्योतिरीश्वर हुँदै  चौधौँ शताब्दीको उत्तरार्द्धदेखी पन्द्रौँ शताब्दीको प्रारम्भमा महाकवि विद्यापति ठाकुुरको पदावलीहरुमा परिपक्व भयो ।

मैथिली साहित्यको विकासमा ज्योतिरीश्वरको स्थान महत्वपूर्ण छ । उनले लेखेकोमा ‘धूर्त समागम (संस्कृत(अपभ्रंश र मैथिली मिश्रित व्यङग्यात्मक प्रहसन), वर्ण रत्नाकर (मैथिली प्रतिक र बिम्ब विषयक ग्रन्थ)र पंचशायक उल्लेखनीय छ । नेपालमा साहित्यिक विकासको दृष्टिले ज्योतिरीश्वरकोमहत्व के मा छ भने उनको ‘वर्ण रत्नाकर’ समस्त भारतीय आर्य (इन्डो आर्यन ) भाषाहरुमा आदिग्रन्थ मानिन्छ । (मैथिली साहित्यक ईतिहास, डा. दुर्गानाथ झा ‘श्रीश’) । त्यस्तै धूर्त्त समागमपनि सम्भवतः दक्षिण एसियामा पहिलो संस्कृत इतर व्यङग्य ग्रन्थ हुनुपर्छ ।

अन्य लोकभाषाझैँ मैथिलीमा पनि साहित्य लिखित र मौखिक परम्परामा विभाजित छ । त्यसैले लोककथा, लोकगाथा र लोकगीतको रुपमा जनसामान्यको कंठहरुमा संरक्षित मैथिली साहित्यको मौखिक परम्परा बारे सामान्य र संक्षिप्त भएपनि चर्चा गरेर अघि बढनु नै उचित होला । सल्हेस, लोरिक, दीनाभद्री,  जोतिक महराज, कारिख आदि ग्राम्य देवताहरुको गाथा नाट्य र भगतै (झाँक्री गीत, स्तुति)को रुपमा श्रमजीवि समुदायको कंठमा शताब्दियौँदेखि सुरक्षित छ । प्रायः मिथिलाका मुख्य नदीहरू कोशी, कमला र बलानको किनारमा विकसित यी मौखिक गाथाहरू सातौँ शताब्दी (मैथिली साहित्यक इतिहास, डा. बालगोविन्द झा ‘व्यथित‘, १९८८)को भएकोमा अधिकांश सहमत देखिएपनि नेपालमा लोकभाषा र लोकसंस्कृतिको अनुसन्धानमा जीवनका अधिकांश भाग व्यतित गरेका डा. प्रफुल्लकमार सिंह ‘मौन’ सल्हेसको लोकगाथा र नाट्यलाई पाँचौ(छैठौँ शताब्दी (मैथिली लोकगाथा सलहेस विषयक अध्ययन (अनुशीलन/घर(बाहर त्रैमासिक, पटना,)मा भएको मान्दछन् ।

अधिकतम् उन्नाइसौँ शताब्दीसम्म विकसित भइरहेको देखिने लोकगाथा, लोकगीत र लोकनाट्यहरुले सामाजिक आयामहरुलाई स्पर्श गर्दै गाथा र आख्यानात्मक गायनशैलीमा तत्कालीन परिवेश र जीवनका जटिलताहरुको अनुभव गराउँछ । मैथिलीका तत्कालीन लेख्य साहित्यका अधिकांश (लगभग पूरै) वैदिक र पौराणिक दार्शनिक र साहित्यिक वा शास्त्रीय आख्यानहरुको पुनरावृत्ति, देव स्तुति तथा संरक्षक राजारानी र राजवंशको विरुदावली गान र शौर्यगाथाले भरिएको छ । तर अर्काेतिर श्रमजीवि प्रायः अशिक्षित समुदाय र जातिको गला (कंठ) मा सुरक्षित लोक पारम्परिक मौखिक साहित्यमा शोषणयुक्त श्रेणीबद्ध सामन्तवादी सामाजिक संरचनाबाट मुक्तिकामना र आमूल परिवर्तनको अपेक्षा , स्वप्न र केही अर्थमा संघर्ष पनि पाइन्छ । तर उनको दैवीय मायावाद र नीयतिवादी मनोविज्ञानले उनिहरुलाई पारम्परिक घेरा नाध्नबाट रोक्छ । मैथिली साहित्यको बारेमा निश्चित रूपमा के भन्न सकिन्छ भने आदिकाल र मध्यकालमा लेख्य साहित्यको तुलनामा मौखिक साहित्य बढी प्रगतिशील देखिन्छ । दुसाध जातिको इष्टदेव र नायक सल्हेस महराजको लोकगाथाको दुईवटा पंक्ति हेरौँ :

“कहतै कतौ केओ नइँ ककरो, डोम दुसाध चमार,

बनबै राजा होब‘ नइँ देबै, कत्तौ अतियाचार ।”

(कहीँ र कतैपनि कसैले कसैलाई भन्ने छैन डूम दूसाध चमार (सार्की)

हुन्छु म राजा, हुन दिन्न कतैपनि अत्याचार ।)

अभेद्य निरंकुश सामन्तवादी अर्थ राजनीतिक(सामाजिक संरचना, राजा र दैवको गँठजोड, नियतिवादी र पुनर्जन्मको नाममा कर्मफल पस्कँदै पुुरोहित, पण्ंडा र मुल्लाहरुको जाल र सीमित चेतनाको बलमा कविलाई पाराको आ(आफ्ना समुदाय र जात (कास्ट)को निम्ती पृथक–पृथक संघर्षरत्श्रमजीवि समुुदायको लोकयोद्धा र सुधारकहरु; यस्तो काल विशेषमा रचिएका वा विकसित भएका मौखिक लोकसाहित्यको श्रृजना अव हुँदैन, हुन सक्दैन । यस्को कारण राजनीतिक सामाजिक संरचनाहरूमा आएको परिवर्तन हो ।

पुनः मूल विषयतिर फर्कौँ (स(साना स्वरुपमा र संस्कृत, अपभ्रंश (वा अवहट्ट) सँगै मिश्रित रुपमा आफ्नो परिचय बनाउँदै आएको मैथिलीले आफ्नो पूर्ण ऊर्जा र गरिमा सहित महाकवि विद्यापतिमा उत्कर्ष प्राप्त गर्यो । अधिकांशतः राग (रंङ्ग, देव स्तुति र राजा (रानीको शौर्य र प्रशंंसाको गीत रच्ने यस अमर कविलाई संस्कृत जस्तो देवभाषाको ठाउँमा लोकभाषा (देसी भाषा)मा  रचना गर्नुले महत्वपूर्ण बनाउँछ । त्यसरीनै उनले रचेका ‘देसिल बयना सव जन मिठ्ठा ’ (देसी पाहुर सबैलाई मीठो)जस्ता पंक्तिहरुले राष्ट्र र माटोप्रति उनको आसक्ति दर्शाउँछ । मैथिली साहित्य संसारमा महाकविको पदमा विराजित विद्यापतिको सामथ्र्य यसैबाट बुझ्न सकिन्छ कि साँढे छ सय वर्ष पछिपनि उनले लेखेका गीतहरू जनसामान्यको गलामा परम्परा जस्तै जीवित छन् । उनिपछि कयौँ कविहरुले उनको अनुकृति गर्ने प्रयास गरे । यसमा नेपालमा जगज्योतिर्मल्ल र प्रकाश मल्ल जस्ता केही मल्ल राजाहरूसमेत सामेल छन् । यो प्रयास अहिलेपनि केही कविहरुले गरिरहेको पाइन्छ । अरु केही न भएपनि स्तुति र कामिनीको ‘नख(शिख’ वर्णन गर्न रुचाउनेहरुले त अहिलेपनि विद्यापतिको शैली पछ्याउन खोजीरहेका हुन्छन् । यद्यपि साहित्यिक मानदण्डको कसीमा यी सबै प्रयासहरू भद्दा नै साबित भएका छन् । ‘अभिनव जयदेव’को उपाधिले विभूषित र आफ्नो शैलीको अद्वितीय कवि विद्यापति जस्तो जादू कसैले उत्पन्न गर्न सकेका छैनन्, न त यो सम्भव छ ।

विद्यापतिका सिर्जनाका अधिकांश भाग धनुषा (महोत्तरीदेखि सप्तरी (विद्यापतिको लेखनमा सप्तरी जनपद)सम्म नेपालमा रचिएका हुन् । जे भएपनि पारम्परिक विद्यापतिलाई प्रगतिशीलतासँग कुनै लिनु(दिनु थिएन ।

यसपछि सन् १५७०ई.मा मकवानपुरे सेन राजा हरिहर सेन आश्रित सामर्थ्यवान कवि उमापति र यसै सोह्रौँ (सत्रौँ शताब्दीका मल्लराजाहरुद्वारा रचिएका मैथिली काव्य, आख्यान, गीतसंग्रह र नाटकहरू उल्लेखनीय छन् ।

मैथिली भाषा साहित्यको विकासमा आदिकाल देखि नै एक किसिमले एकल वर्चस्व कायम गरेको नेपालमा मल्लकाल पछि प्रायः अन्धकार काल झैँ देखिन्छ । पृथ्वी नारायण शाहको नेतृत्वमा गोर्खाली शासकद्वारा काठमाडौं उपत्यका कब्जा र मल्ल शासनको पतनपछि मैथिलीभाषी साहित्यकारहरुको राज्याश्रय खोसिनु र पलायन स्वाभाविक नै हो । हुन त त्यसपछि (शाहवंशीय कब्जा) केही लेखिएन भन्नु उचित न होला, किनभने शाहवंशीय शासनकालमा समेत केही मैथिलजन शासनको वरीपरी देखिन्छन् नै । यस अतिरिक्त नेपाली सीमाभित्रको मैथिलीक्षेत्रमा समेत केही न केही अवश्य लेखिए होलान् । यस कालखण्डबारे अनुसन्धान बाँकी छ । जे जसो भएपनि नेपालमा मैथिली साहित्यको विश्रृंखलित श्रृखला सन् १७६७ ईं. पछि सन् १९५०मा मात्र, जनकपुरमा अध्यापन पेशाको खोजीमा नेपाल प्रवेश गरेका पण्डित जीवनाथ झाको राणाविरोधी कविताको रुपमा जोडिन्छ । अधिकांश विद्वानहरू यही (सन् १९५०) बाट मैथिली साहित्यको आधुनिककाल शुरु भएको मान्दछन् ।

उता भारतीय मैथिलीभाषी क्षेत्रमा भने मैथिली साहित्यको धारा गोविन्द दास (१६४३(७०ई. ), मनबोध (१७८८ ई. निधन, जन्म अज्ञात), चन्दा झा (१८३२(१९०७ई.), भोलालाल दास (१८९७(१९७७ई.), काशीकान्त झा“मधूप” (१९०६(१९७७ ई.) , बैद्यनाथ झा “यात्री” (हिन्दीमा नागार्जुन, (१९११(१९९८ई.) र राजकमल चौधरी (१९२९(१९६७ई.) हुँदै निरन्तर बगी रहेको छ । यस कालखण्डमा मनबोध र यात्री महत्वपूर्ण देखिन्छन् ।

समग्र मैथिली साहित्यको विकासलाई समालोचकीय कोणबाट, मेरो विचारमा चारवटा विस्फोटमा विभाजित गर्न सकिन्छ; पहिलो ( सरहपा, जहाँबाट मैथिली साहित्यको आरम्भ मानिन्छ, दोश्रो– विद्यापति, जस्ले मैथिली साहित्यलाई कलात्मक शीर्षमा पुर्याए, तेस्रो (मनबोध, जसले मैथिली साहित्यलाई संस्कृतको प्रारुपबाट निकालेर मैथिलीको बोली वचन र उखानहरुको प्रयोग गरेर निजत्व प्रदानं गरे र चौथो यात्री, जसले मैथिलीमा प्राधिकारपूर्ण तवरले प्रगतिवादी स्वरको प्रयोग गरे । यद्यपि उनको कयौँ रचनाहरू (हिन्दीमा समेत) स्वतःस्फूर्त लेखन (अटोम्याटिक राइटिङ्ग (अतियथार्थवादको एउटा शैली ) छन् । हुन त उनकै समकालीन राजकमल चौधरी उनी भन्दा प्रखर देखिन्छन । तरपनि मैथिली साहित्यमा प्रगतिवादी स्वरको एउटा दृढ स्तम्भ र शीखर यात्री हुन् भन्नेमा दुईमत हुन सक्दैन । यसै सन्दर्भमा भन्नु उचित नै हुनेछ कि मैथिली साहित्यमा (भारतका) प्रगतिवादी र प्रगतिशील स्वर छिटफुट रुपमा बीसौँ शताब्दीको आरम्भ देखिनै देखिन थाल्छ ।

प्रगतिवाद : एक संक्षिप्त टिप्पणी

बिसौँ शताब्दीको आरम्भमा लेनिनको नेतृत्वमा सफल सोभियत क्रान्तिले विश्व परिदृश्यमा मानवको एउटा नयाँ वर्ग (सर्वहारालाई स्थापित गरायो । ऐतिहासिक रुपमा समग्र शोषणबाट मुक्तिको निम्ती संघर्षरत् दीन(हीन मानवबाट सर्वथा नयाँ वर्गको रुपमा अवतरित यो सर्वहारा, इतिहासको सबैभन्दा सचेत वर्ग थियो । यसले विश्वभरी मानवीय जीवनका सबै आयामहरू साँस्कृतिक, राजनैतिक, आर्थिक र विचार(कला सबै क्षेत्रलाई प्रभावित गर्यो । जीवनका अन्य क्षेत्र जस्तै कला (साहित्यको क्षेत्रमा पनि एउटा नयाँ सौन्दर्यबोध उद्घाटित भयो– प्रगतिवाद । यसले कला र साहित्यमा पनि श्रम, सर्वहारा र उसको मुक्ति संघर्षलाई सर्वोच्च स्थानमा स्थापित गर्यो । अब कला र साहित्य न त स्वान्तः सुखाय, न त प्रगतिशीलताको नाममा दीन (हीनको निम्ती प्रलाप रहन गयो । यसले सृजन, सृजनाकार र सृजन प्रक्रियाको उद्देश्यमा परिवर्तन गरेर कला(साहित्यलाई मुक्तिको उपकरणमा परिणत गरिदियो । यो पूर्वीय साहित्यको पारम्परिक रस सिद्धान्त र पश्चिममा पूँजीवादको अवतरण, फ्रान्सीसी क्रान्ति र युरोपेली पूनर्जागरणसँगै युरोपमा जन्मिएको भाववादी दार्शनिक सौन्दर्यबोध भन्दा भिन्न वर्गसंघर्षबाट जन्मेको नयाँ मानिस र समाजवादी यथार्थवादमा आधारित नयाँ सौन्दर्यबोध थियो । उन्नाइसौँ शताब्दीमा कार्ल माक्र्सले परिभाषित र पहिचान गरेको सर्वहारा , यो नयाँ मानिस निजी थिएन, बरु विश्व श्रम संस्कृतिको विजयको निम्ती सक्रिय सामाजिक मानिस थियो । सन् १९३०(३२ तिर यस नयाँ मानिसको बारेमा प्रख्यात इटालियन सौन्दर्यशास्त्री एन्तोनियो ग्राम्शीले लेखे – “……….. हामीहरुले एउटा नयाँ संस्कृतिको निम्ती संघर्षको कुरा गर्नु पर्दछ, अर्थात एउटा नयाँ नैतिक जीवनको संघर्ष । …..संस्कृति र सभ्यतामा परिवर्तनको संघर्षले गर्दा मानिसका भावनाहरू, त्यसको धारणा र त्यसको सामाजिक सम्बन्ध (जसको अनिवार्य परिणति नै सामाजिक मानिस छ ) सम्पूर्ण रुपमा परिवर्तित हुन्छ, र यससंगै मानिसपनि त्यो रहँदैन जो ऊ पहिले थियो । यस परिवर्तनसंगै कलाको अन्तर्वस्तुमा परिवर्तन हुन्छ र नयाँ कलाको जन्म (हुन्छ) ।”(प्रिजनर्स नोटबुक, एन्तोनियो ग्राम्शी)

सन् १९३२ ई.मा मैक्सिम गोर्की र मायकोब्स्की जस्ता सोभियत साहित्यकारहरुको संलग्नतामा अक्टूबर क्रान्तिबाट निःसृत श्रमको सर्वोच्चता र माक्र्सवादी विचारभूमिमा आधारित समाजवादी यथार्थवाद निहित प्रगतिवादी सौन्दर्यबोधलाई मूख्य आधार भूमि स्वीकार गरेर प्रगतिशील लेखक संघको गठन भयो । कला(साहित्यको क्षेत्रमा नयाँ सौन्दर्यबोध र वैचारिक आन्दोलनले समग्र विश्वलाई प्रभावित गर्यो । यसै दशकमा भारतका विश्व प्रसिद्ध साहित्यकार प्रेमचन्दको नेतृत्वमा भारतमा पनि प्रगतिशील लेखक संघको गठन भयो ।

कला (साहित्यमा प्रगतिवाद सर्वहारा सौन्दर्यबोध र उद्देश्यप्रति प्रतिबद्ध अवधारणा हो । यथार्थवाद र लेखकीय दायित्वको बारेमा चर्चा गर्ने क्रममा मैक्सिम गोर्कीले लेखे– “यथार्थवादले आफ्नो कठिन कार्यभार (त्यतिबेला) पूरा गर्दछ, यदि उसले.. कूपमण्डूक र पशुवत् व्यक्तिवादबाट समाजवाद तर्फ जाने बाटोमा विकासको प्रक्रियामा हेर्दछ, मानिसको चित्रण त्यसतो गर्दैन जस्तो उ छ, यस्तो (चित्रण) गर्दछ जस्तो उ हुनु पर्दछ र जस्तो उ भविष्यमा हुनेछ ।” (सृजन प्रक्रिया और शिल्प के बारे मे, मैक्सिम गोर्की, परिकल्पना प्रकाशन, २००२ ) ।

अमेरिकी साहित्यकार हावर्ड फास्टले भने– “…….एउटा सर्वहारावादी कविको कवितामा सर्वहारा क्रान्तिकै प्रतिबद्धता हुन्छ । यसैलाई समाजवादी यथार्थवाद भनिन्छ ।”(साहित्य र यथार्थ, हावर्ड फास्ट, अनुवाद– डा. जगदीशचन्द्र भण्डारी र संजीवदास श्रेष्ठ, २०५६ )

वर्ग संघर्ष र समाजवादी यथार्थबोध गतिशील यथार्थ हो । अक्टुबर क्रान्ति पछि विश्वमा भएका विभिन्न सफल असफल क्रान्तिहरुले पनि प्रगतिवादलाई प्रभावित गरी रह्यो । यसमा सन् १९४९ ई.मा माओ त्से तुङ्गको नेतृत्वमा भएको सफल चिनियाँ नव जनवादी क्रान्तिको प्रभाव सर्वाधिक रह्यो । यस प्रकारका क्रान्ति र आन्दोलनहरुले प्रगतिवादी तत्वमा उपनिवेशवाद विरोधी चेतना, राष्ट्रिय मुक्ति चेतना र देशभक्ति पनि समावेश भयो । त्यसरी नै विश्व कम्युनिस्ट आन्दोलनमा आएको विभाजनले र संशोधनवादी (दक्षिण र जड दुबै) को प्रभावले प्रगतिवादी आन्दोलनमा समेत नयाँ विकृतिहरू देखा परे । साहित्य र कलामा दोस्रो इश्वरको पूजा, अन्ध जनपूजा, वीरपूजा, जीवनको खण्डित अभिव्यक्ति, घृणाको साहित्य, नव यौन चित्र (क्युबिज्म) जस्ता नकारात्मक प्रवृत्तिहरू पनि प्रगतिवादको नाममा अगाडी आए । नव वामपन्थको नाममा आएका यी विकृतिहरुले मार्क्सवाद र समाजवादी यथार्थवाद कै घाँटी रेटिरहेका थिए । जानी नजानी बौद्धिक दम्भ प्रदर्शन गर्ने लोभमा मैथिलीमा पनि यस्ता विकृतिहरू प्रयोग हुँदै आएका छन् ।

साहित्य र कलाको क्षेत्रमा वैचारिक संश्लेषण सोभियत क्रान्तिपछि भएको र यसले विश्वव्यापी प्रभावित गरेको चर्चा पहिले नै गरियो । स्वाभाविक रुपमा मैथिली पनि यस प्रभावबाट अलग रहेन । यस आधारमा मैथिली साहित्यमा सन् १९३० (३२ई. तिर ‘प्रगतिवादी स्वरहरूसुनिन थाल्छन् । यसै दशकमा भारतमा कम्युनिस्ट पार्टीको गठन भएको थियो । यसैक्रममा भारतमा भुवनेश्वर सिंह ‘भूवन’ किसान चेतना सहित ‘युग वाणी’ नामक कविता सहित देखा पर्छन्–(जागल किसान , जागल किसान । रहि सकय हीन नहि महाप्राण ।……समताक शङख हम फूकि देब ….छी प्रलयंकर छी मृत्युजय । हम करब प्रलय )…..।

केही समीक्षकहरू ‘भूवन’लाई मैथिली साहित्यमा प्रगतिवादी र आधुनिक चेतनाको प्रतिष्ठापक मान्दछन् । यसपछि त यात्री र राजकमल चौधरी हँदै मैथिलीमा प्रगतिवादी धारा निरन्तर बगीरहेकै छ ।

नेपालमा मैथिली साहित्यमा प्रगतिवाद :

वैचारिक आधारभूमि

नेपालमा मैथिली साहित्यको सौन्दर्य चेतनाको विश्व दृष्टिकोणमा सोभियत क्रान्ति चिनिया नवजनवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम, नक्सलवादी आन्दोलन र विश्वभरी जारी कम्युनिस्ट आन्दोलनहरू छन् । यसैगरी नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना, राणा विरोधी आन्दोलन, २००८ साल र त्यसपछि तराईमा भएका किसान संघर्षहरू(रे नही जी कहो आन्दोलन, मोँछ उखार आन्दोलनर बखारी फोड आन्दोलन), झापा विद्रोह र ०५२ सालबाट शुरु भएको दशवर्षे माओवादी जनयुद्धबाट निःसृत चेतनापनि मैथिली साहित्यको प्रगतिवादी वैचारिक आधारभूमिमा समाविष्ट छन् ।

नेपालको प्रगतिवादी मैथिली लेखनलाई तीन पंक्तिमा विभाजित गर्न सकिन्छ ( (१) कम्युनिस्ट विचार र संगठनप्रति प्रतिबद्ध र लेखनपनि प्रगतिवादी (२) संगठन र विचारमा प्रतिबद्ध तर लेखनमा प्रगतिवादी नभएको (अतियथार्थ, सामाजिक यथार्थ , विसंगति र अराजक वामपन्थी ),  (३) संगठनबाट स्वतन्त्र तर रचनामा प्रगतिवादी ।

प्रगतिवादी लेखनको एउटा हिस्सा जनवादी लेखनको नामबाट विभूषित छ । सम्बद्ध  कम्युनिस्ट पार्टीको रणनीति र कार्यदिशालाई केन्द्रमा राखेर सिर्जना गर्ने यी रचनाकारहरूसंघर्षको जटिलताको कारण प्रायः अपरिचित वा अल्प परिचित रहन्छन् ।

इतिहासदेखि वर्तमानसम्म

नेपालमा मैथिली साहित्यको आधुनिक काल सन् १९५० मा पण्डित जीवनाथ झाको राणा विरोधी नवजागरण नामक कविताबाट शुरु भएको पहिले नै भनियो । नेपालमा मैथिली साहित्यमा प्रगतिवादी धारा पनि यहीँबाट शुरु भएको तथ्य सुखद् छ ।

सन् १९५५ ई.मा सुन्दर झा शास्त्रीको कथा‘अखनो बखारी नै फुजलै’, सन् १९६०ई.मा प्राध्यापन पेशाका क्रममा नेपाल आएका डा.धीरेश्वर झा धीरेन्द्र (डा. धीरेन्द्र) का उपन्यास (भोरुकवा, कादो आ कोइला, ठुमुकि बहु कमला, महाकाव्य– त्रिपुण्ड, कविता सग्रह– हैंगरमे टाँगल कोट; सन् १९६० ई. मै शिक्षण पेशाका क्रममा नेपाल आएका र महोत्तरी जिल्लाको गौशालामा बसेका मथुरानन्द माथुरका खण्ड काव्य (मूस महिमा, कृषक र महाकाव्य– कानन कन्या, नेपालीय मैथिली प्रगतिवादी धाराका कोसे ढुङ्गाहरू हुन् ।

समीक्षाको कसीमा शास्त्रीका प्रारम्भिक रचनाहरुमा देखिएका प्रगतिवादी चेतना पछिका रचनाहरुमा कायम रहेन । माथुरका प्रायः सबै रचनाहरुमा माक्र्सवादी चेत प्रतिबद्धताको स्तरसम्म देखिन्छ । ‘मूस महिमा’ मा उनी एक ठाउँमा लेख्छन् “गोरिना (मूसा ) आउँदछ जब दूलोबाट बाहिर । हेरी अनि बिरालो डरले काँप्दछ थरथर । संसारको गति बदलिएको प्रष्ट देख्दछु । साना भए ठूला यसबाट यै सिक्दछु ।” (अनुवाद) । उनको रचना हेर्दा उनि कुनै कम्युनिस्ट संगठनसंग सम्बद्ध भएको अनुमान हुन्छ, तर हो होइन प्रष्ट छैन ।

डा. धीरेन्द्र आधुनिक नेपालीय मैथिली साहित्यमा शीर्ष र स्कूलको रुपमा स्थापित छन् । उनको शिष्य भनेर गर्व गर्नेको पक्ति लामो छ । यसमा डा. राजेन्द्र विमलदेखि रमेश रंञ्जन र धीरेन्द्र प्रेमर्षि सम्मका पुरानादेखि नयाँ पुस्ताका सृजनाकारहरू छन् । तर रमेश रञ्जन जस्ता एकाधलाई छोडदिने हो भने उनको तथाकथित पूरै शीष्य मण्डली (जस्मा डा. विमल समेत सामेल छन्) उनको विचारधारात्मक निस्कर्षका विपरीत देखिन्छन् । निराशा, कुण्ठा, पराजय, अविश्वास, स्तुति र निजात्मक आवेगमा गुटुमुटिएको  सामाजिक यथार्थबोध यिनको अधिकतम् सीमा हो । डा. धीरेन्द्रका पात्रहरू भने सामन्त र शोषकको लाशमा  उभिएर लाल झण्डा फहराउँदछन् । उनका पछिल्ला रचनाहरुमा केही वामपन्थी अस्थिरता देखिएपनि वर्ग संघर्ष, वर्ग पक्षधरता र सर्वहाराको विजयकामना प्रायः सबै रचनामा सहजै देखिन्छ । गुणवत्ताको हिसाबले प्रभावशाली रहेपनि आफ्ना कथित शीष्यहरूद्वारा अमूर्त र दैवीय बनाइएका डा. धीरेन्द्रको रचना संसारको पुनर्समीक्षा आवश्यक छ ।

मैथिलीमा प्रगतिवादी धारा भारतबाट अर्थोपार्जनको क्रममा नेपाल आएका शिक्षकहरुबाट शुरु भएपनि पछि नेपाल कम्युनिस्ट पार्टीको स्थापना र कम्युनिस्ट आन्दोलन, पंचायती तानाशाही व्यवस्था विरुद्धको आन्दोलन, किसान आन्दोलन, विद्यार्थी आन्दोलनहरु, झापा विद्रोह र माओवादी जनयुद्ध लगायत सशस्त्र कम्युनिस्ट विद्रोहहरुको प्रभाव, अन्य नेपाली भाषा साहित्य जस्तै नेपालीय मैथिली प्रगतिवादी रचनाकारहरू जन्मनुको अहम् कारण हुन भन्नेमा दुईमत छैन । यसमा स्वाभाविक रुपमा नै स्वतन्त्र र कम्युनिस्ट पार्टीसंग सम्बद्ध रचनाकारहरू छन् ।

नेपालमा मैथिली साहित्यमा प्रगतिवादी यात्रा डा. धीरेन्द्रको तथाकथित परम्परा वा स्कूलमा त जीवित रहेन, बरु त्यसभन्दा पृथक जारी रह्यो । बीसौँ शताब्दीको सातौँ दशकमा विराटनगरमा प्रगतिवादी कित्तामा रा.ना.सुधाकर (रामनारायण सुधाकर)उल्लेखनीय छन् । मूलतः कथाकार सुधाकरका कयौँ रचनाहरू समाजवादी यथार्थबोधका नजिक देखिन्छन् । उनको ‘थकुचल माउँसक बुट्टी’ नामक कथाको नायक वर्तमान अत्याचारी शासन व्यवस्थाको अन्तको निम्ति सशस्त्र संघर्ष (छापामार युद्ध) को आवश्यकता अनुभूत गर्दछ ।

यसपछि मैथिली प्रगतिवादी साहित्य लेखन मत्थर नै भएपनि निरन्तर देखिन्छ । यसक्रममा रोशन जनकपुरी, रमेश रञ्जन, बैद्यनाथ ठाकुर (बीरगन्ज), धर्मेन्द्र कर्ण, शीतल कर्ण, राजेश विद्रोही,राजेन्द कर्ण आदि देखिन्छन् ।

यस मध्ये रमेश रञ्जन मूलतः कथाकार नाटककारको रुपमा परिचित भएपनि उनको कविता संंग्रह समेत प्रकाशित छन् । उनको ‘कब्जा’ नामक कथामा भूमिसंघर्षमा विजयी भएर लाल झण्डा गाडदै नायक वा ‘चक्कू पिजबैत मुनरा’ मा आमूल परिवर्तनको पक्षमा भएको शहादत अर्थहीन भइरहेको देखेर नयाँ विद्रोहको निम्ती चक्कूमा पाइन चढाउँदै गरेको पात्र मुनरा र केही कविताहरुमा प्रगतिवादी चेतना तिख्खर भएर प्रस्तुत हुन्छ । तर उनको पछिल्लो रचनाहरुले उनको रचना संसार वैचारिकरुपमा अस्थिर रहेको पाइन्छ । विशेषतः ‘मूर्दा’ जस्तो  विसंगतिवादी नाटक, जनयुद्ध जस्तो न्यायपूर्ण हिंसात्मक नवजनवादी आन्दोलन र मानवीय सौर्यको विद्रूपीकरण गर्दै र निरपेक्ष शान्तिको पक्षमा उभिएको ‘सङ्गोर’  नामक उपन्यास र यथास्थितिलाई पक्षपोषण गरिरहेको कविताहरुले यिनीभित्रको अस्थिरतालाई पुष्टि गर्दछ ।

त्यसरी नै फुटकर रुपमा चारदशकदेखि छिटफुट छापिँदै आएका रोशन जनकपुरीका प्रारम्भिक रचनाहरुमा अस्तित्ववादी छटपटी देखिएपनि पछिका रचनाहरुमा समाजवादी यथार्थवादलाई दरो सँग पक्रेको देखिन्छ । सन् २०१४ ई.मा उनको ‘समय गीत’ कविता, गजल र गीत संग्रह प्रकाशित भएको छ भने निबन्ध र कथाहरू प्रकाशित छन् ।

यस अतिरिक्त आमूल परिवर्तनप्रति आकर्षण राख्ने तर समाजवादी यथार्थबोध प्रति अप्रतिबद्ध (वाम) प्रगतिशील समर्थ लेखकहरुको पङ्क्ति रहँदै आएको छ, जसलाई उल्लेख गरिएन भने प्रगतिशील वा प्रगतिवादी मैथिली साहित्यको इतिहास पूर्ण हँदैन । यस पङ्क्तिमा उल्लेखनीय नामहरुमा चन्द्रशेखरलाल शेखर, जीवछ उदासी, राजेश विद्रोही, अमरेन्द्र यादव, देवेश्वरलाल मुन्ना आदि छन् । राजेश विद्रोही माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाका कमान्डर थिए र हाल उनी डा. जनता समाजवादी पार्टीको केन्द्रसदस्य भएर माक्र्सवादी विचारधाराबाट बाहिरिइसकेका छन् । त्यस्तै अमरेन्द्र यादवपनि वैचारिकताको दृष्टिले जसपाकै निकट देखिन्छन् ।

यसमा सर्वाधिक उल्लेखनीय चन्द्रशेखरलाल शेखर मूलतः तुकबन्दी शैलीका उत्कृष्ट कवि हुन् । विशेषतः पंचायतकालीन राजनीतिमा वाम आन्दोलनमा सक्रिय र जेल जीवन समेत भोगेका कवि शेखर साहित्य सृजनामा वि.सं. २०२५ सालदेखि नै सक्रिय देखिन्छन् । उनको वि.सं. २०२५ मा ‘हम नेपाली हम नेपाल’, वि.सं. २०४७ सालमा ‘गिरिजाबाबू जय नेपाल’, वि.सं. २०५० सालमा ‘सूलीपर सन्त’, र वि.सं. २०६३ सालमा ‘‘सबटा दाग देखार’ कविता संग्रह प्रकाशित छन् । यिनका केही रचनाहरुमा समाजवादी यथार्थबोध प्रतिको प्रतिबद्धता स्पष्ट रुपमा देखिन्छ । तर पछिल्ला रचनाहरुमा परिवर्तन प्रतिको मोह देखिएपनि वृद्धावस्थाको अशक्तता अस्तित्ववादी छटपटी र कहीँ कहीँ आध्यात्मिक शरणागतिमा पनि अभिव्यक्त भएको देखिन्छ । वि.सं. २०७२ को शुरुमा यिनको देहावसान भयो ।

नेपालको प्रगतिवादी आन्दोलनको एउटा हिस्सा चलनचल्तीको भाषामा जनवादी सर्जकको सम्बोधनबाट विभूषित हँदै आएको चर्चा पहिले नै गरियो । प्रायः कम्युनिस्ट पार्टीको रणनीतिक कार्यदिशालाई कलात्मक रुपमा जनतासामु प्रस्तुत गर्ने रचनाकारहरुको यस पङ्क्तिमा शहीद रामवृक्ष यादव, मातृका यादव, पुलकित ठाकुर आदि छन् । यस अतिरिक्त यस पंक्तिमा अनेकौँ जनरचनाकारहरू छन्, जो नेपालमा रहेका विभिन्न कम्युुनिस्ट पार्टीका कार्यकर्ता थिए र छन्, जसका जनकविता, गीत, तुकबन्दी र नाटकहरू श्रमजीवि जनताको बीच जीवित छन् । यस प्रकारका रचनाहरुमा केही त विचार र कला दुबैमा उत्कृष्ट छन् । केहीभने कलामा कमजोर र नाराको स्तरमा देखिन्छन् ।

यस प्रकारका जनसाहित्यको ऐतिहासिक स्रोत र सृजन प्रारम्भ नेपालमा वि.सं. २००८ सालको किसान आन्दोलन देखि पाइन्छ । यस धारामा शहीद रामवृक्ष यादवको कविता, गीत र प्रवचनहरुको संकलन वि.सं.२०५९ सालमा रोशन जनकपुरीको सम्पादनमा ‘महान शहीद कमरेड रामवृक्ष यादवका कविता , गीत आ चिठ्ठी’ को नामबाट प्रकाशित भएको थियो । यस्तै ‘रामवृक्ष यादव प्रतिष्ठान’ द्वारा प्रकाशित स्मृतिग्रन्थमा पनि उनका रचनाहरू समाविष्ट छन् । साहित्य सिर्जनामा मूलतः गीतकार रामवृक्ष यादवका रचनाहरू वि.स. २०३९ (४०सालदेखिका पाइन्छन् ।

‘खून बहल पसिना हो भैया मालिकके हरबहियामे’, ‘पहिरलन नवका चूडी साडी झपाली नौजवान’, ‘वेद पुराणके कथासब झुठे’ आदि यादवका जनप्रीय गीतहरू हुन, जुन कमला नदीका किनारमा धनुषा र सिरहामा अझै जीवित छन् । मातृका यादवका गीत र कविताहरुको संग्रह अझै प्रकाशनको प्रतीक्षामा छन् ।

मैथिली प्रगतिवादी र प्रगतिशील साहित्य संसारमा अधिकांश कविता, गीत, त्यसपछि कथा र नाटक लेखिएका छन् । निबन्ध र समालोचनादि क्षेत्रमा अत्यन्त थोरै काम भएको देखिन्छ । यस क्षेत्रमा सन् १९८० तिर डा. धीरेन्द्रको ‘काव्य शास्त्रक रुपरेखा’ नामक समीक्षा ग्रन्थ देखिन्छ, जुन शास्त्रीयता भन्दा माथी उठ्न सकेको छैन । नेपालीय मैथिलीमा विचार पक्षलाई केन्द्रमा राखेर समीक्षा अथवा समालोचनात्मक रचनाहरू देखिँदैन । यद्यपि यस क्षेत्रमा सन् २००० (वि.स. २०५७) मा ‘मैथिली साहित्यमा प्रगतिशीलताक खोज’ शिर्षकबाट एउटा कार्यपत्र रोशन जनकपुरीले  प्रस्तुत गरेका थिए । तर यो अहिले अप्राप्य छ । यस्तो स्थितिमा प्रस्तुत आलेख आफ्नो सीमा भित्र प्रगतिवादी मैथिली साहित्यको ऐतिहासिकताको खोजीमा समालोचनात्मक प्रस्तावको भूमिका हुन सक्दछ ।

उपसंहार

प्रगतिवादको समीक्षाविधि ऐतिहासिक द्वन्दवाद हो । यस लेखमा पनि मैथिली साहित्यको प्रगतिवादी वा प्रगतिशीलतालाई ऐतिहासिक कालक्रमको वस्तुगत जटिलताबाट जन्मेको प्रवृत्तिको आधारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । त्यसैले यसमा उल्लेख गरिएका साहित्यकारहरुको नाम भन्दापनि प्रवृत्तिको आधारमा अध्ययन गर्नु बढी परिणामदायी हुन सक्दछ । यसरी नै यस आलेखमा मैथिली प्रगतिवादी साहित्येतिहासको सामान्य विवरण मात्र प्रस्तुत गरिएको छ । समग्र विधागत विस्तृत अध्ययनको निम्ती यो आलेख प्रस्थान बिन्दु मात्र हुनसक्ने बोध यस पंक्तिकारलाई छ । यति भनिसकेपछि निस्कर्षमा के भन्न सकिन्छ भने मैथिली साहित्यको जन्म नै तत्कालीन प्रगतिशील चेतसँगै भयो (सरहपा– एहि स सुरसरि जमुणा ….) ।

उन्नाइसौँ शताब्दीमा माक्र्सवादी चेतना, बिसौँ शताब्दीको अक्टुबर क्रान्ति, र अन्य आमूल परिवर्तनकारी क्रान्तिबाट मैथिली पनि अप्रभावित रहेन । प्रगतिवादले आफ्नो जन्मकालदेखि नै मैथिली साहित्यलाई प्रभावित गर्यो । नेपाली मैथिली साहित्यको आधुनिककालको प्रारम्भपनि प्रगतिवादी चेतनाबाटै हुनु सुखद् उल्लेख्य छ । प्रगतिवादी र प्रगतिशीलताको सशक्त धारा जीवित रहेपनि मैथिली साहित्यको सामन्तवादी चेतनाबाट जन्मेको परम्परागत धारा र साँस्कृतिक साम्राज्यवादी चेतनाबाट जन्मेको उत्तर आधुनिकतावादी धाराको गँठजोड यसको सामु मुख्य चुनौतीको रुपमा छ । अझ भनौँ, प्रचार, पहँच र साधन सम्पन्नताको दृष्टिकोणबाट मैथिली साहित्यमा यस्तै साहित्यकारहरुको वर्चस्व छ ।

शोषणयुक्त समाज र विभेदकारी राज्य व्यवस्थामा प्रगतिवाद र राज्यसत्ता एक(अर्काको विरुद्ध उभिएको हुन्छ । प्रगतिवादी सृजनाकारहरुको स्थिति पनि यो भन्दा भिन्न हुन सक्दैन । हुन त राज्यआश्रयको सुख प्रतिको आकर्षणमा परेर अनेक पाण्डित्यपूर्ण कसरत गरेर विचारमा संशोधन गरी अनेक सृजनाकार प्रगतिवादी पंक्तिलाई धूमिल पादैँ आएको यथार्थ पनि पुरानै छ ।

अहिले नेपालमा सर्वहारावादी वर्गसंघर्षको सिद्धान्तमा आधारित नवजनवादी जनयुद्ध लगायत जनताका सबै न्यायपूर्ण संघर्षलाई हिंसक अपराध साबित गर्न परम्परागत शासक वर्ग र उसको साम्राज्यवादी विस्तारवादी मालिकहरू टुपी–पैतालाको जोड गर्दैछन् । उनिहरू एकातिर जनताका आमूल परिवर्तनकारी संघर्षपूर्ण वर्तमानलाई हिंसक भनेर गाली गर्दैछन् भने अर्कोतिर एकैसाथ विभेदकारी र शोषणयुक्त सामन्तवादी अतीतको गुणगान र उपभोक्तावादी विश्वको उपभोग्य ‘सामग्री र भोक्ता’ दुबै बनेर गर्व पनि गर्दैछन् । दशैँ र ईदको परम्परागत् खुशीको अवसरमा कोकाकोला र बीयरको आवश्यकता र प्रतिष्ठायुक्त गर्वानुभूति यसै साम्राज्यवादी साँस्कृतिक चेतनाको उपज हो । वस्तुतः यो साँस्कृतिक अश्लीलता हो । तर बुर्जूआ र परम्परागत रचनाकारहरुको ठूलो हिस्सा यसैलाई महिमामण्डन गर्नमा व्यस्त छन् ।

यस प्रकारका सिर्जनाकारहरू श्रमजीवि सँस्कृतिलाई घृणास्पद र सर्वहारावादी समाजवादी विश्वलाई असम्भव तथा साम्राज्यवादी वैश्विक वर्चस्वलाई अभेद्य मान्दछन् । राज्य जतिसुकै शोषणमूलक र विभेदकारी रहेपनि त्यसको नीति, नियम र कानून पालन गर्नू र गराउनुमै यिनीहरुको उर्जा खर्च हुने गर्दछ । त्यसैले यिनीहरुको निम्ती देशभक्ति, राष्ट्रियता र नैतिक जीवनको एउटै अर्थ राजभक्ति– शासनभक्ति हुने गर्दछ । मैथिली साहित्यपनि यस्तै अवस्थाबाट गुज्रँदैछ । यस्तो अवस्थामा प्रगतिवादी र प्रगतिशील रचनाकारहरू एउटै मञ्चमा उभिएर मैथिली साहित्यको गर्वपूर्ण परम्परालाई अघि बढाउनु साझा कर्तव्य हुन जान्छ । देश (काल कुनै राजा वा शासकको होइन,  आम जनसमुदायको हो, जसको श्रम, संघर्ष र सफलताबाट सँस्कृतिको निर्माण हुने गर्दछ । मैथिली समाज, सँस्कृति र साहित्यको इतिहास, वर्तमान र भविष्य बारे यस्तै नयाँ व्याख्या वा पुनव्र्याख्याको आवश्यकता छ । – नेपाली साहित्य घरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Array

छुटाउनुभयो कि ?

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

सरकारको तयारी सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्का निर्णय स...
२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा 'लोटस लालटेन परेड' नामक कार्यक्रमको आयोजना हुने भए...
एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

ओमानमा आजदेखि सुरू हुन लागेको एसिसी प्रिमियर कममा नेपालले आज मलेसियासँग खेल्दैछ। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल ...
सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गर...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search