
७ पुस, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका हुन् ।
उनले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।’
उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने बताए ।
राष्ट्रपति पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
उनले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।