
११ पौष, काठमाण्डौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम सुरु गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
बुधबारदेखि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरू एकताबद्ध भएर अघि बढ्न सहमत भएको बताए । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल गराएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरू एकताबद्ध भएर अघि बढन सहमत रहेको बताए ।
संविधान जोगाउनका लागि आफूहरूले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको उनको भनाइ छ । ‘पार्टीले एमालेभित्र गरेको विद्रोह जायज थियो । यसले सफलता प्राप्त गर्यो। विघटित प्रतिनिधिसभा पुनःस्थापित भयो, र संविधान जोगियो,’ उनले भने, ‘संसद्ले पूर्ण कार्यकाल काम गर्नसक्यो । र, आज हामी यो संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा हामी फेरि गम्भीर हुनुपर्ने स्थिति पुगेका छौं । अहिले फेरि प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । विभिन्न षड्यन्त्रका तानाबाना बुनिरहेका छन् ।’
पार्टीको आगामी महाधिवेशनको तयारी र विधानका सम्बन्धमा छलफल गर्न बसेको बैठक शुक्रबारसम्म चल्नेछ ।