निरञ्जन सुवेदी
वैदिक सनातन वर्णाश्रम धर्ममा अहिंसा को विधान ब्रह्मचर्य र सबैभन्दा कडा अहिंसा को विधान त संन्यास आश्रमका लागि उपदिष्ट गरिएको छ। जस्तै वेदाध्ययनं गर्ने ब्रह्मचारी ले बुटो काटेर काठ ल्याउन हुदैन, स्त्री सहवास मद्य र मांस भोजन गर्नु हुदैन र यज्ञका लागि काठ पनि स्वयं सुकेर तल झरेका काठ नै बटुलेर ल्याउनु पर्छ किनकि काठ काट्दा पनि हिंसा हुन्छ।
संन्यासीले स्वयं तल झरेका फल नै ग्रहण गर्नुपर्छ किनकि फल टिप्दा पनि हिंसा हुन्छ, संन्यासी ले भोजन पकाउने साग, सब्जी टिप्ने काट्ने जस्ता हिंसक कार्य बोट विरुवा फल सब्जी काट्ने हिंसक कार्य गर्नु हुदैन, यस्तै काठ काटेर आगो जलाएर पकाउने आदि कार्य पनि गर्न हुदैन। मनुष्य को वीर्य जस्तै बीज धान्यादिमा पनि जीवन रहेको हुनाले यसकारण निवृत्ति वैराग्य मार्गमा हिडेका संन्यासीलाई अग्निमा भोजन पकाउन निषेध भनिएको बुझिन्छ।हिंसा-अहिंसा लाइ अति सूक्ष्म रूपले बुझ्नु आवश्यक छ।
अहिले नवरात्र र दशैं को अवसरमा वैदिक पशुबलि र भक्ष्य जनावरलको मांस भक्षण विषयमा समाज को धारणा विघटित देखिएको छ एउटा दुबैको समर्थक, दोस्रो दुबै को विरोधी, तेस्रो बलि ठीक छ तर मांसभक्षण अनुचित, चतुर्थ अलमल यता न उताको। तपाइहरुको मनोकल्पित धारणाले केहि सिन्को पनि फरक पर्दैन, किनकि अहिलेको बहुमत समाज भनेकै भेडा भेडियाको झुण्ड हो! के उचित के अनुचित यसविषयमा शास्त्र नै प्रमाण हुन्। वेद-वेदाङ्गादि, आप्तवचन, स्मृति इतिहास पुराणादि सबैशास्त्रमा सामञ्जस्व राखि शास्त्रीय मर्म बुझाउन सक्ने शास्त्रज्ञ अचेल अति न्यून र दुर्लभ नै हुनुहुञ्छ र प्रायजसो हावा को लहरमा बग्ने बहुमत समाज वहाँहरुबाट अपरिचित नै छ।
सामाजिक सञ्जाल मा वीडियो र रील बनाएर यूट्यूब र फेसबुकबाट (अ)ज्ञानदिनेलाई पुज्दै गुरु बनाउदै हिड्ने हैन! जसले शास्त्रीय परम्परा नै पाएका छैनन् र जसको कुल, गोत्र, कुटुम्ब र परम्परा आदिको ज्ञात नै छैन तिनलाई फेसबुकमा वा अन्यत्र हेरेर सुनेर गुरु बनाउदै पुज्दै हिड्ने हैन!
माता पिता पछि उपनयन गराइदिने गुरु हुन् तत् पश्चात् वेद को पाठ पढाउने हाम्रा गुरु हुन्, विधिवत् केहि विशेष विद्याहरु दिने शास्त्रहरु सिकाउने हाम्रा गुरु हुन्, हाम्रो कुल-कुटुम्बभित्र हामीभन्दा ठुला अनुभवी संस्कृत संस्कारी व्यक्ति पनि हाम्रा गुरु हुन्, यति धेरै गुरुजन छन्। अनि यी भन्दा बाहिर जसबाट हामीले कुनै विधिवत् ज्ञान नै लिएका छैनौं तिनलाई गुरु बनाउदै हिड्ने हैन। ज्ञानीजन को मर्यादा मान, सम्मान सत्कार आदि गर्नु उचित हो र त्यो बेग्लै विषय हो!
यस्तै पैसा बटुल्न प्रवचन लगाउदै शास्त्रीय ज्ञान बेचेर देश दुनिया घुम्दै रमाउदै हिड्ने पनि गुरु हैनन्।
यस्तै विवाहित स्त्रीकालागि पति नै सर्वप्रथम गुरु हो र पतिको कुल नै गुरुकुल हो।
प्रमाण के हुन श्रुति(वेद) या स्मृति?
वेदः स्मृतिः आचारश्च प्रमाणम्।
तत्र वेदः स्वतन्त्रं प्रमाणम् इतरौ तु वेदमूलकतया।
(-धर्ममीमांसापरिभाषा)
वेद स्मृति र आचार यि धार्मिक प्रमाणहरु हुन। वेद स्वतन्त्र प्रमाण हो भने स्मृति र वैदिक शास्त्रीय परम्पराबाट आएका शिष्टहरुले बताएको आचार वेद मूलकतया वेद आधारित भए मात्रै प्रमाण मानिन्छ। वेदमूलक भएन भने त्यो प्रमाण को रूपमा स्वीकार्य हुँदैन।
यस्तै वेद मूलक या स्मृति मूलक आचार (सदाचार) पनि धर्म के हो र अधर्म के हो यस प्रति प्रमाण हुञ्छन्। वैदिक शास्त्रीय शिष्टहरुद्वारा दियेको आचार धर्मनिर्णायक हुञ्छ। तर जो आचरण श्रुति शास्त्र (वेद) प्रतिकूल हुञ्छन, तिनि प्रमाण को रूपमा मान्य हुँदैनन्।
वेदोऽखिलोधर्ममूलं स्मृतिशीलेच तद्विदाम्।
समस्त धर्म को मूल प्रमाण भनेको वेद हो , वेदमूलक भयेको कारणले मात्रै नै स्मृतिहरु (पुराण इतिहास र अन्य शास्त्रहरु) र शीलं(शिष्टहरुबाट आयेको सदाचार) पनि धर्म-अधर्म विषय प्रति प्रमाण हुञ्छन्।
अतः ऋषिहरुले तद्-तद् शाखा र स्वसूत्र अनुसार तद्-तद् वर्ण र आश्रमलाई निर्दिष्ट धर्म तद्-तद् देशाचार र लोकाचार भक्ष्य-अभक्ष्य हिंसा-अहिंसा अनुशरण गर्नु भनेका छन्।
संस्कृत अध्ययन गरेर नामधारी डिग्री लिएर मात्रै पुग्दैन, अल्लि ढङ्गसित गहिरो अध्ययन गर्नुपर्छ। विश्वविद्यालयबाट विभिन्न दर्शन या साहित्यमा डिग्री लिदैमा कोहि शास्त्री आचार्य बन्ने हैन, डिग्रीधारी बन्ने हो। परम्परा र संस्कार पाएन भने डिग्री मात्रै राखेर आचार्य बनिदैन। यस्तै शास्त्री आचार्य सम्म अध्ययन गर्दैमा एक वर्णबाट अर्को वर्णमा वर्णपरिवर्तन पनि हुँदैन।
साहित्य आदिमा शास्त्री आचार्य तह सम्म पढ्दैमा कोही कर्मकाण्डी ब्राह्मण पनि बन्दैन, कर्मकाण्डी बन्न त कर्मकाण्ड को विद्या र त्यसमा परम्परागत रूपले प्रशिक्षित हुनुपर्छ। सर्वप्रथम त संस्कार र परम्परा चाहिन्छ! पाठ्यक्रम भन्दा १०० गुणा त विभिन्न शास्त्रहरु गुरुजन बाट र स्वयं पनि अध्ययन गर्नु पर्दछ अनि जब ज्ञानाग्नि प्रज्ज्वलित हुन्छ अनि बल्ल डिग्रीको साथ साथै आचार्य कहलाउन योग्य भइन्छ। भावुकता र भ्रममा न परौं।