डिजिटल वालेट ईसेवामा रहेको रकम अब एनआईसी एसिया बैंकको एटीएम बुथबाट निकाल्न सकिने भएको छ। आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै बैंकले यस्तो सेवा सुरु भएको जानकारी दिएको हो।
यससँगै अब ईसेवाका प्रयोगकर्ताले दैनिक पाँच पटकसम्म पाँच हजार रुपैयाँका दरले नगद निकाल्न सक्नेछन्। त्यस्तै, मासिक रूपमा ५० पटकसम्म बढीमा २५ हजार रुपैयाँ निकाल्न सकिने छ।
अब इसेवा प्रयोगकर्ताले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटिएमबाट सजिलै पैसा निकाल्न सक्नेछन्। यसअघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको छ । एटिएम निकासी गर्ने प्रक्रिया २ चरणको रहेको छ।
पहिलो चरणमा इसेवा प्रयोगकर्ताले आफ्नो इसेवा एपमा गई ओपीटी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको एटिएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ। पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको वित्तीय सेवाभित्र रहेको एटिएम निकासीमा गई एनआईसी एशिया बैंक छनौट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ।
प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटीएम आउनेछ, जुन प्रयोगकर्ताले ओटीएम टर्मिनलमा पुष्टि गर्नुपर्छ। यसरी मोबाइल नम्बर र ओपीटी सहितका विवरणहरू एटिएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताले नगद निकाल्न सक्नेछन्। यसरी रकम निकाल्न दुई सजिला चरणहरु पार गरेर ओपीटी जस्ता विवरणहरु पनि पुष्टि गनुपर्ने भएकोले यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन्।