Naya Update

डोटीका मगर समुदायकाे ‘बिसौँना’ र वैदिक संस्कृति

Advertisement

विष्णुराज भट्ट/डोटी

बिसौंना एक नेपाली शब्द हो जसको अर्थ सामान्यत: लामो समयको यात्रापछि वा थकानपछि केही समयको लागि विश्राम गर्नुलाई जनाउँछ। यो शब्दले विश्राम लिनु, केही समयको लागि शरीर र मनलाई आराम दिनु भन्ने भाव व्यक्त गर्छ।(यो परिभाषा च्याट जिपिटिमा उपलब्ध छ)।

व्यक्तिको निधन भए पश्चात वर्ष दिनको निधन तिथि मितिमा मगर समुदायमा गरिने वार्षिकी श्राद्ध(बिसौँना)को अर्थ भने यसरी लगाउन सकिन्छ: सदाका लागि भौतिक शरीर छोडेपछि घर परिवारले व्यवस्थित रूपमा सम्मान, श्रद्धा पूर्वक, कूल परम्परा, विधिविधान अनुसार प्रतीकात्मक रूपमा गाउँ घर नजिकै जंगलमा राखिएको  नाम सहित ढुंगाको बनाएको  सानो पवित्र संरचना हो।

यसरी “बिसौंना” गर्न राखिएको ठाउँ वार्षिक रूपमा गरिने श्राद्ध जस्तै पितृ कार्य विशेष गर्ने गरिन्छ। अनि प्रत्येक वर्षको गाई तिहार औंसीमा पनि कूल परम्परा अनुसार पूजा आदि सम्मान स्वरूप गरेर खानेकुरा चढाएर पितृदेव प्रति हार्दिक नमन गरिन्छ। आशीर्वाद मागिन्छ।

श्राद्ध बारेमा वास्तविकता:
श्राद्ध  भनेको आफ्ना दिवङ्गत पितृलाई श्रद्धा पूर्वक सम्मान गरेर खानेकुरा चढाउनु ब्राह्मण भोजन/पिण्ड दान गर्नु हो।’ परलोक गएका व्यक्तिको तृप्ति होस् भनी सामान्यतया विधिपूर्वक हवन, ब्राह्मण भोजन पिण्ड दान इत्यादि गरिने धर्म कार्य विशेषलाई श्राद्ध भन्छन्।’ (श्रोत: एकोद्दिष्टश्राद्धपद्धति, शिवराज आचार्य, रत्न पुस्तक भण्डार, काठमाण्डु, द्वितीय संस्करण,२०६४)

नेपालको अवस्थामा हेर्दा हरेक जातजातिका मानिसहरु आफ्नो घरको पितृलाई/देवतालाई सके जति सम्मान गरेर खानेकुरा चढाएर पूजा गर्ने गर्दछन्। प्राचीन कालमा मन्त्र द्रष्टा ऋषि र ज्ञानी मुनिको दिव्य दृष्टिको ज्ञान पुस्तान्तरण हुँदै आजको युगमा पनि यथा सम्भव अनुसरण/प्रयोग गरिँदै आईएको छ।

सनातन वैदिक हिन्दू धर्मका अनुयायीहरूले “देवताले दिन्छन्, पितृले हर्छन्” भन्ने निकै नै घत लाग्दो आहान बारम्बार सम्झिरहन्छन्। भनाइको तात्पर्य यो हो कि : पितृदेवलाई आफ्नो आफ्नो कूल परम्परा अनुसार कुनै पनि हालतमा पनि श्राद्ध आदि कर्म गर्नै पर्छ,नगरेमा देवताले  ती पितृको अनिष्ट रोक्न सक्दैनन्।त्यसकारण आफ्नो कूल र मूल छोड्न हुन्न भन्ने उक्ति सदा सर्वदा स्मरणीय हुन्छ।

हरेक समुदायमा आफ्नो छुट्टै परम्परा हुन्छ। हरेक जातजातिका मानिसहरु कूल पूजा गर्दा , पितृलाई सम्झेर कर्म गर्दा  आफ्नो कूल अनुसार चल्नु पर्ने हुन्छ। कूल बाहिर निस्केर पुर्खाको ज्ञान लाई मूर्ख मान्दै आफू चाहिँ झन् महामुर्ख ठहरिने काम गर्नु हुन्न।

पितृ कार्य गर्दा आजकल व्यक्तिहरू द्विविधामा अल्झिरहेको पाइन्छ। त्यसको मूख्य कारण चाहिँ कूल परम्परा अनुसार कुनै पनि काम गर्न नसक्नु वा नजान्नु हो।किनकि हाम्रा पुर्खाले लागू गरेका आचरण विदेशीहरूको जालमा परेर, विदेशी संस्कृतिको अन्धानुकरण गरेर वा आफ्नो कुराको ज्ञान नै नभएर पनि पितृ कार्य या देव कार्य या नित्य, नैमित्तीक र काम्य कर्म सबैमा विषेशगरी युवा वर्गमा स्पष्ट रूपमा धारणा बनेको पाइँदैन। कोही यसलाई डलरको खेती गर्दै अन्धविश्वास भन्छन् त कोही भने यसलाई पुर्खाले गरेको अनावश्यक बोझको रूपमा लिन्छन्। अन्य कयौं व्यक्ति यसप्रति वास्तविक कुरा पनि गर्छन् तर ती व्यक्ति दुर्लभ छन्, जो आधिकारिक धारणा राख्छन्।

बिसौँना:
यस लेखमा मुख्यतया डोटीको  दक्षिण भागमा अवस्थित मगर समुदायका व्यक्तिहरूले मृत्यु भएकाको छ महिनामा तर खास गरी  वर्ष दिनमा पितृलाई वार्षिक श्राद्ध जस्तै कार्य गर्नुहुन्छ,जसलाई उहाँहरू “बिसौँना” भनेर भन्नुहुन्छ। यसबारे प्राचीन संस्कृति सँग जोडेर चर्चा गरिदै छ।

बिसौँना गर्नु भन्दा अघि एक दिन नून छोड्ने र बिसौँनाको दिन एक छाक छोडेर तयारी अथवा शुद्धाशुद्धी/चोखो रहने गरिन्छ। बिसौँना गरिने स्थलमा, रोटिका विविध परिकार बनाएर चढाइन्छ। धजाहरु पनि चढाइन्छ।बिसौँनामा जती खुड्किला छन् त्यति नै  ५ या ७ दस वर्ष उमेर मुनिका कन्यालाई राखेर पूजा गरिन्छ। भात पकाइन्छ। भाले काटेर मासु र भात पितृलाई सम्मानका साथ चढाउने कार्य सकिएपछि पितृ कर्म  गर्न अधिकार भएको व्यक्तिलाई र कन्यालाई मात्र  प्रसाद स्वरुप भालेको मासु र भात प्रदान गरिन्छ। यदि अझ पनि उक्त भालेको मासु र भात बचेमा खाल्डोमा राखेर पुरिन्छ।

दिदीबहिनीहरुले ल्याएको बोका भने काटेर टाउको र कलेजो बिसौँना थापना (स्थापना) गरेको ठाउँमा  चढाएसकेपछि अरु मासु प्रसाद स्वरुप उक्त बोकाको मासु  उपस्थित सबैले ग्रहण गर्छन्। त्यसपछि टिका लगाउने कार्य गरिन्छ। सबै चेलीबेटीहरुलाई आफुले सके जतिको दान दक्षिणा गरिन्छ। बिसौँना भएको पितृको घर छाउने पत्थरमा नाम, जन्म मिति, मृत्यु मिति, बिसौँना भएको मिति लेखेर त्यही राख्ने पनि कार्य हुन्छ। अचेल चाहिँ मार्वलमा पनि विवरण लेखेर राख्ने विकल्प पनि चलेको पाइएको छ।

मगर समुदायमा बिसौँना गरेर घर फर्किए पछि त्यसै दिन  चेलीबेटी नै कर्मकाण्डमा बाहुन हुने हुनाले गौदान पनि चेलीबेटी(बाहुन) लाई गरिन्छ। बाहुनले चोख्याउने भनेर बुझिन्छ। बोका/खसी लाएकी चेलीबेटीलाई जुन मृत्यु भएको व्यक्तिको बिसौँना गरिएको हो, त्यस व्यक्तिको एक जोर पुरै शिर देखि पाउ सम्मको लुगाकपडा र अन्य छाता लगायतका हुन्छन्। तत् पश्चात प्रत्येक वर्षमा गाई तिहारको औंसी तिथिमा पितृ पूजा गर्ने गर्दछन्। त्यसदिन पनि भाले चढाइन्छ।यो कर्म प्रत्येक वर्ष गरिन्छ।

बिसौँनाको वैदिक हिन्दू धर्मशास्त्रको व्यवस्था सँग निकट सम्बन्ध:

नेवारी समुदायमा, शाह वंशीय राजकुलमा र नेपालका राणा परिवारमा पनि अहिले श्राद्धमा मांस प्रयोग गर्नेगरिएको छ। जुन समुदायमा रक्सी पूजामा प्रयोग गरिन्छ,त्यस समुदायमा श्राद्धमा रक्सी प्रयोग गर्ने गरिन्छ। जस्तै : नेवार समुदायमा छ। त्यसैगरी यो कार्य  मगर समुदायमा पनि छ।बङ्गालमा, मिथिलामा श्राद्धमा माछाको प्रयोग गर्ने अझै छन् भनेर सुनिएको छ। अनि काठमाण्डुमा राजोपाध्यायमा पनि यस्तो संस्कृति छ। त्यसैगरी भारतको आन्द्रप्रदेशमा पनि एक जना हिन्दूले आफ्ना बाजे बिते पछिको तोकेको दिनमा बाख्रा काटेर चढाएको प्रत्यक्ष बताएको कुरा पनि भारतमा रोजगारीमा गएका व्यक्तिले भनेका छन्।अन्य समुदायमा पनि यस्तो संस्कृति होला। यसलाई धर्म संस्कृति मा आधारित नै मान्नु पर्छ। किनकि आफूले खानेकुरा देवता/पितृलाई  चढाउनु उत्तम हो।

वैदिक सनातन हिन्दू धर्मका प्रामाणिक ग्रन्थमा पनि पितृलाई श्रद्धा पूर्वक कूल परम्परा अनुसार श्राद्धमा मांस चढाउने प्रमाण छन्। तर समुदाय विशेष ध्यान दिनुपर्छ। जस्तै जुन समुदायमा घर कुखुरो खाने गर्छन्, त्यो समुदायमा घर कुखुरोको मासु चढाउन पाइयो भने घर कुखुरो, घर सुँगुर नखाने समुदायमा बोका, भेडा, बाख्रा, बँदेल,बन् कुखुरा, कालिज, मृग आदिको मासु पितृलाई श्राद्धमा चढाउन पर्छ। प्रसाद स्वरुप बाहुनले उक्त मासु अनिवार्य खाने वैदिक नियम हो। स्व शाखा अनुकूलका वैदिक सनातन हिन्दू शास्त्रमा स्पष्ट छ।कूल परम्परा रहेको पनि छ। जस्तै :
१) श्राद्धादिमा नियुक्त जो ब्राह्मण न्याय्य रूपमा प्राप्त मासु खाँदैन,त्यो ब्राह्मण एक्काइस जुनी सम्म पशु भएर जन्मन्छ भनी मनुस्मृतिमा (५-३५) भनिएको छ ।

नियुक्तस् तु यथान्यायं यो मांसं नाsित्त मानव: ।
स प्रेत्य पशुतां याति सम्भवानेकविंशतिम्।।

२)श्राद्धमा वा अन्य देवकार्यमा  नियुक्त वा आमन्त्रित संयमशील ब्राह्मणले पनि मासु खानै पर्छ, नखाएमा उ त्यस  पशुका जति रौँ छन् त्यति  वर्ष सम्म नरक पर्छ भन्ने कुरा वाशिष्ठधर्मसूत्र (११-३४), पद्मपुराण (५६-४२) मा लगायत अन्य ग्रन्थमा उल्लेख गरिएको छ।
२.१)नियुक्तस् तु यति: श्राद्धे दैवे वा मांसमुत्सृजेत ।
       यावन्ति  पशुरोमाणि तावन् नरकमृच्छति।।  
                       वाशिष्ठधर्मसूत्र(११-३४)                             
२.२)आमन्त्रितश् च य: श्राद्धे दैवे वा मांसमुत्सृजेत ।
      यावन्ति  पशुरोमाणि तावन् नरकमृच्छति।। 
                 पद्मपुराण(५६-४२)
(श्रोत: सनातन धर्ममा बलिको अपरिहार्यता, प्रा. डा. आमोद आचार्य,काठमाण्डु,तंत्र चर्चा परिवार, वि सं २०८०।

अब  प्रश्न उठ्न सक्छ कि उसो भए सबै प्रकारका जातजातिमा किन श्राद्धमा मांस प्रयोग हुन्न त? श्राद्धमा प्रयोग गरिने जुन मासको फुरौला हुन्छ हो त्यही नै मासुको सट्टा हो।यसको कारण मासु त्यसमा पनि फेरि विशेष आधार जस्तै सिङ्ग न भाँच्चिएको, चोट नलागेको, दुइटा अण्डकोष भएको, निरोगी र आँखा सम्बन्धी पनि कुनै समस्या नभएको त्यस्तो पशु बोका भेडा मृग आदि र कूल परम्परा अनुसारका पक्षीहरु सहज रुपमा उपलब्ध गराउन नसकिएको र ती महंगा पनि पर्ने हुनाले सबै प्रकारका समुदायमा जस्तै ब्राह्मण क्षेत्री जातीमा मांसको स्थापन्ना मासको फुरौला प्रचलनमा आएको/ल्याइएको हो।

पहिला ब्राह्मण क्षेत्री आदि सबै जातीमा श्राद्धमा मांस प्रयोग गर्ने गरिन्थ्यो। थुप्रै प्रमाण छन् ।यसमा द्विविधा छैन।कुनै कुनै वेद बाहिरका विभिन्न प्रकारका नूतन ग्रुप/ संप्रदाय/पन्थका दुष्प्रचारमा कलियुगमा मानिसहरूले आफ्नो पितृलाई श्राद्धमा मांस प्रयोग गर्ने होइन , सत्य युगमा वा अन्य युगमा हो भन्छन् , यो शतप्रतिशत गलत हो। सबै युगमा श्राद्धमा मांस प्रयोग गर्ने शास्त्र अनुसार सही हो। अहिले मांस प्रयोग गर्न सक्नु या नसक्नु फरक कुरा हो। तर, आफ्ना पितृदेवका लागि, बिसौँनाको बेलामा आयोजित पितृ कार्यमा बोका आदि पशुको र अन्य कूल परम्परा अनुसार कुखुराआदि पक्षीलाई पितृको नाममा चढाएर प्रसाद स्वरुप बिसौँनामा पितृ कार्य गर्ने  बाहुनले (चेलिबेटी) र आमन्त्रित व्यक्तिले मासु खाने संस्कृतिको अहिले सम्म मगर समुदायमा संरक्षण गरेकोमा हार्दिक नमन छ।

साधुवाद छ। यो आस्तिक व्यवहार  र शास्त्र सम्मत हो। शास्त्र भन्दा उल्टो होइन। बरु श्राद्धमा मांस प्रयोग हुन्न भन्नु नास्तिक हुनु र शास्त्र विरोधी हुनु हो। अज्ञानता हो। वेद बाहिरको मत हो।यसरी मगर समुदायमा वैदिक हिन्दू संस्कृति सुरक्षित छ भनेर जान्न बिसौँनाको  संस्कारले आफै प्रष्ट पारेको छ। शास्त्र र कूल परम्परा बुझ्न सक्नु नसक्नु फरक कुरा हो।

धेरै व्यक्तिहरूमा श्राद्धमा मासु पितृलाई चढाउने अनि खाने पनि धर्म हुन्छ र? यो पनि संस्कृति हो र? यो त हिंसा भयो नि! भनेर धेरैमा भ्रम रहेकोले त्यो भ्रम हटाउन  हिंसा र अहिंसा बारे चुरो कुरो हेरौं:

हिंसा मानव जीवनको पाइला – पाइलामा छ। हिंसा बिना संसार चल्दैन। एक जीव अर्को जीबमा निर्भर छ। खेतीपाती गर्दा कति धेरै किरा मर्छन्।

हिँड्दा खेरी कयौं साना कीरा मर्छन्। अहिंसा भन्ने  र बलिको विरोध गर्ने विषय प्रकृति विरुद्धको चर्चा हो। अनि शास्त्रको रुपमा त झन् महानास्तिक कुरा हो।  अहिंसा लाई लिएर पशुबलि दिनुहुन्न भन्नेहरु के देवता/पितृलाई फलफुल चढाउँदा : ढुङ्गाका फलफुल चढाउँछन् कि? फलफुल पनि सजीव हो। प्राण हुन्छ। त्यसकारण भनिएको छ:( वैदिकी हिंसा हिंसा न भवति ) तसर्थ हिंसा लाई बलि सँग मात्र जोड्नु गलत मात्र होइन अपितु अज्ञानता पनि भएको प्रष्ट हुन्छ।

त्यसकारण आफ्ना पूर्खालाई मूर्ख जस्तो ठान्नेहरु आफू चाहिँ महामुर्ख ठहरिएको चाल नपाउने अवस्था अहिले आएको छ। त्यसकारण आ-आफ्नो कूल परम्परा अनुसार नवरात्रमा देवीको मन्दिरमा पशुबलि चढाएर देवीको पूजा गर्ने र देवताका थानमा बलि दिएर पूजा गर्ने, श्राद्धमा र बिसौँनामा आशीर्वाद ग्रहण गरेर हाम्रा पुर्खाले अनादि देखि लामो समय सम्म त्यो नियम लागू गरेका थिए। जुन शास्त्रमा स्पष्ट छ। अहिले पनि छँदै छ। जति पशुबलि बारे विरोध गरेपनि यसमा कुनै फरक पर्दैन। गृहस्थका जीवनमा नित्य प्रयोग हुने प्राणीको हिंसा हुने बधस्थलहरू चुलो,पिन्ने जाँतो, कुचो, ओखल र पानीको घैंटो हुन् भनेर मनुस्मृतिमा(३/६८)बताइएको छ। हेरौँ:

पञ्च सूना गृहस्थस्य चुल्ली पेषण्युपस्कर:।
कण्डनी चोदकुम्भश्च वध्यते यास्तु वाहयन्।।
तसर्थ, यज्ञमा गरिने पशुबलिलाई शास्त्रले हिंसा मानेको छैन।

गीता, गीता भनेर खुब कुप्रचार गर्दै आएका केही जोगी/सन्यासीहरु भन्छन्:(अहिंसा परमो धर्म:) तर स्वयं क्षेत्रीय वर्णका अर्जुन युद्ध गर्दा धेरै मर्ने भए अब म युद्ध गर्दिनँ भनेर युद्ध देखि हार खाएर एक किसिमको आत्मविश्वास गुमाएर डिप्रेसनमा(खिन्नतामा) पुगिसकेका अर्जुनलाईलाई भगवान् कृष्ण आएर मनोवैज्ञानिक परामर्श गर्दै: हुन्न अर्जुन यस्तो त। तिमी त क्षेत्रिय हौ, तिम्रो धर्म त लड्नु र धर्म रक्षा गर्नु हो। कहाँ मान्छे मर्छन् भनेर युद्ध नगर्ने? युद्ध गर। धर्म रक्षाका लागि मार । बाँचेमा चक्रवर्ती राजा समान हुनेछौ, मरेमा स्वर्ग जाने छौ, लड़ाई गर अर्जुन! भनेर कृष्णले भनेपछि लड़ाई गरे। अब अहिंसा? अहिंसा? भनेर गीताको पुस्तक देखाउन मिल्छ त? यस्ता मूल कुरा छोडेर मान्छे बराल्ने देखि बचौँ!

हिंसा भन्ने कुरा ठूलो मात्र हेर्ने, सानो जीवको हिंसा नै नभन्ने कुरा गलत हो। सागपात, तरकारी अन्न तथा फलफूलहरु निर्जीव ढुङ्गा जस्तै हुन् भन्ने भ्रम हाम्रा ऋषिमुनिहरुमा थिएन।त्यसमा पनि प्राण छ। (अहिंसा परामो धर्मः) भनेको अनावश्यक हिंसा नगर, आवश्यक हिंसा गर। सागपात खाँदा के हिंसा हुन्न? रूख काटेर चोप आउँदैन? के त्यो निर्जीव हो? फेरि गृहस्थ आश्रममा बसेका हामीले सन्यास ग्रहण गरेर सन्यास आश्रममा बसेका जोगी आदिको नियम लागू हुन्न। उनीहरूको भन्ने नियम हाम्रोमा लागू हुन्न। जोगीहरूको लागि त रुख काट्न पनि हिंसा मानिएको छ। तर बिहेबारी  गरेर गृहस्थ आश्रममा रहेका हामीलाई त्यो आवश्यक रुख काट्दा हिंसा हुन्न। सबभन्दा ठूलो गृहस्थ आश्रम भनिएको छ। किनकि अरु आश्रममा रहेका पनि हामी गृहस्थकै अन्न सब्जी आदि खाएर बाँच्न पाउने हुन्छन्।

भारतबाट आयात गरिएका र यहीँका विभिन्न नूतन  पन्थहरुले मिशनरी भन्दा खतरनाक कार्य गरेकै छन्।कसैबाट लुकेको छैन। यो मिशनरी भन्दा पनि घातक हो।नेपाली लाई आफ्नै कुल परम्पराबाट भ्रष्ट गराएकै छन्। हामी कुनै संप्रदायमा न लागेका मौलिक परम्पराका भएकाले यो सजिलै बुझौँ। रङ्गीविरंगी वेशभूषा धारी,जटाधारी, तिलाकधारी र सुन्दा मीठा मीठा शब्द लोकमा लाग्ने गरी बोल्ने  तर तिनीहरू हाम्रो धर्म नष्ट गर्ने हुनाले आस्तिक जनले साबधान  रहनुपर्छ। पैसाका जम्मा गर्न र लूटधन्दाका लागि वेद बाहिरका परम नास्तिक र बिधर्मी व्यक्तिले लगाउने कोटी होम, श्रीमद् भागवत कथा वाचन आदि पनि आस्तिक सज्जनहरुले बहिष्कार गर्नुपर्छ।

उपसंहार:
तस्माच्छास्त्रं प्रमाणं ते कार्याऽकार्यव्यवस्थितौ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि।। –गीता (१६।२४)
अर्थात्–  शास्त्र नै  विधि र निषेधमा (गर्न हुने र नहुने कुरामा) प्रमाण हो। त्यसैले हे अर्जुन, शास्त्रले विधान गरेको कामकुरा गर्नु तिम्रो धर्म हो, कर्तव्य हो।

(श्रोत:वैदिक हिन्दू धर्म संस्कृति,प्रा डा प्रमोद आचार्य, काठमाण्डु,स्वाध्यायशालाकुटुम्ब,वि सं २०६५)

अत: धर्मका विषयमा शास्त्रमा के भनेको छ? के विधि छ? के निषेध छ? भनेर खोज्नुपर्छ र तदनुसार नै धर्माचरण गर्नुपर्छ। धर्माचरणमा मानवीय तर्क काम लाग्दैन। व्यक्तिपिच्छेका तर्क अनेक हुन्छन्। मतभेद हुन्छन्। सारा शास्त्रले भने पनि म मान्दिनँ भन्ने व्यक्ति नास्तिक हो।

हाकाहाकी शास्त्र मान्दिनँ भन्ने मान्छे बरु नास्तिक भए पनि इमानदार हुन सक्ला, तर शास्त्रमा नभएको कुरा शास्त्रमा छ भन्ने र शास्त्रमा भएको कुरा शास्त्रमा छैन भन्ने मान्छे चाहिँ पक्कै बेइमान हो।यसर्थ बिसौँनामा/ श्राद्धमा मांस प्रयोग गर्ने चलन शास्त्रको विधि विधान हो। कूल परम्पराको विधि हो। यसमा कुनै अनौठो मान्नु पर्दैन।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search