
१ पुष, काठमाण्डौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट आतंकित भएका केही मानिसहरुले एनसेलमा प्रचण्डले अरबौंको भ्रष्टाचार गरेको भनेर प्रचारबाजी गरेको बताएका छन् ।
आइतबार महोत्तरीस्थित जनता मा.वि. गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशभरि पनि सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतंकित भएर एनसेलमा अरबैंको भ्रष्टाचार गर्ये प्रचण्डले भन्ने प्रचार भएको देखेँ मैले ।’
आफू दुबईमा हुँदा एनसेलको सेयर बिक्री भएको खबर अनलाइनबाट थाहा पाएको उल्लेख गर्दै दाहालले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए ।
‘एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेका थिए, तिनीहरूको मुखमा अहिले बुजो लागेको छ,’ उनले भने ।