Naya Update

जनताका सुझावलाई लिपिबद्ध गरेर भविष्यको कार्ययोजना बनाउँछौँ : महासचिव शंकरपोखरेल

Advertisement

एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको १९ दिने मध्यपहाडी संकल्प यात्रा १ पुसमा पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन भएको छ । यात्राको क्रममा अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयाससमेत भयो । यसै पृष्ठभूमिमा एमालेको ‘संकल्प यात्रा’, राष्ट्रिय राजनीति, सरकार, दलहरूले चलाइरहेको ‘मिसन ८४’लगायतका विषयमा महासचिव शंकरपोखरेलसँग नयाँ पत्रिकाका शुरोजंगपाण्डेले गरेको कुराकानी :

सुदूरपश्चिम बैतडीको झुलाघाटदेखि पूर्वको पाँचथरको चिवाभन्ज्याङसम्मको १९ दिने मध्यपहाडी संकल्प यात्रामा एमालेले जनताका प्रमुख सरोकार र समस्याहरूलाई मूलभूत रूपमा कसरी अनुभूत गरेको छ ? 

पहिलो, अभियानको विशेषताबारे प्रकाश पारेपछि तपाईंले खोजेको प्रश्नको जवाफमा प्रवेश गर्छु । हामीले मंसिर १४ देखि वैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डा फहराएर अभियानको शुभारम्भ गर्‍यौँ । विभिन्न ठाउँमा सभा आयोजना गर्ने, धेरै ठाउँमा जनतासँग प्रत्यक्ष संवाद गर्ने र स्थानीय विशेषतालाई धेरैभन्दा धेरै उजागर गर्ने सोचका साथ अभियान आरम्भ गरेका थियौँ । अभियानका क्रममा थुप्रै विशेषता प्रकट भएका छन् ।

पहिलो, नेपालको राजनीतिमा पछिल्लो समयमा खासगरी परिवर्तनप्रति नै जुन प्रकारको वितृष्णा पैदा गर्ने, अस्थिरता पैदा गर्ने र समाजलाई द्वन्द्वतिर लैजाने प्रवृत्ति अगाडि बढेका थिए । मान्छेहरूमा एकप्रकारले व्यवस्था र राजनीतिक दलहरूप्रति नै कतै अनास्था र अविश्वास बढेको हो कि भन्ने जुन मान्यता विकास हुन खोजेजस्तो देखिन्थ्यो, त्यसलाई हाम्रो यात्राले गलत साबित गरिदिएको छ ।

खासगरी जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा, मूलधारको राजनीतिको पक्षमा छन् र राज्यसत्तामा कमजोरी रहँदारहँदै पनि राजनीतिक दलहरूले नै सुधार गर्न सक्छन् भन्ने सन्देशलाई सहज ढंगले आत्मसात् गर्दारहेछन् भन्ने देखाएको छ । अर्को, यो यात्रामा आमजनताको सहभागिता अभूतपूर्व रह्यो । एउटा महत्वपूर्ण पक्ष के रह्यो भने आयोजक नेकपा एमाले रहँदारहँदै पनि समग्रतामा राष्ट्रिय अभियान र यात्राका रूपमा यसलाई जनताले लिएको पाइयो ।

विभिन्न स्थानमा सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना हुने, छलफल गरेर सामूहिक माग पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्तुत गर्ने काम भएको छ । यस सिलसिलामा धेरै जिल्लामा सर्वदलीय, सर्वपक्षीय बैठक आयोजना भएका छन् । अभियानका क्रममा हामीले राजनीतिक रूपले विकासका मुद्दामा सहकार्य गरेर साझा दृष्टिकोण तय गर्नुपर्छ भन्ने मान्यता स्थानीय तहदेखि नै उजागर भएको पायौँ । अर्को विशेषता, चाहे वृद्धवृृद्धा हुन् या बालबालिका ।

नवयुवायुवती हुन् या समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू । विभिन्न वर्ग र तहका मान्छेहरूमा अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व आकर्षण देखियो । वास्तवमा केपी ओली आमजनताका बीचमा अत्यन्त लोकप्रिय नेताका रूपमा स्थापित हुनुभएको छ भन्ने कुरा यो यात्राले पुनर्पुष्टि गरेको ठान्छु म । यात्राका क्रममा हामीले नेपालको समग्र विविधता र त्यसभित्रको एकतालाई प्रत्यक्ष रूपमा अनुभूत गर्ने मौका प्राप्त गर्याैँ ।  

अर्को पक्ष, मध्यपहाडको विकासका सम्भावनाबारे हामीले छलफल चलाउन खोजेका थियौँ । विभिन्न ठाउँमा खेतीपाती गरिरहेका र उद्यमशीलतामा अगाडि बढिरहेका व्यक्तिलाई सम्मान गर्ने र उहाँहरू स्वयंले आफैँले आफ्ना उत्पादन उपहारका रूपमा काम भएको छ । 

हामीले मध्यपहाडी लोकमार्गको अवस्थाका बारेमा प्रत्यक्ष रूपमा बुझ्न, त्यहाँका जनताहरूको मूल्यांकन गर्ने प्रत्यक्ष अवसर प्राप्त गर्‍यौँ र धेरै ठाउँमा लोकमार्ग निर्माणका क्रममा अवरोध सिर्जना भएको पनि हामीले महसुस गर्‍यौँ । कतिपय ठाउँमा एकप्रकारले मुआब्जा र क्षतिपूर्तिका विषयमा विवादले गर्दा काम अगाडि बढ्न नसकेको पनि पायौँ । हाम्रो एउटा मुख्य उद्देश्य मध्यपहाडी लोकमार्ग सडकको अडिट गर्ने पनि थियो । त्यसको सम्भावनाबारे पनि अध्ययन गरेका छौँ ।

सबभन्दा महत्वपूर्ण पक्ष, जनताको सहयोगमा जनताको बीचमा भन्ने मान्यतालाई हामीले यात्राका क्रममा अत्यन्त सफलतापूर्वक लैजान सक्यौँ । कतिपयलाई लाग्न सक्छ– यत्रो अभियानको खर्च एमालेले कसरी व्यवस्थापन गर्‍यो होला?  हामीले आमकार्यकर्ताका बीचबाट, समर्थक–शुभेच्छुकको बीचबाट स्वतस्फूर्त रूपमा सहयोग प्राप्त गर्‍यौँ र पार्टीले कुनै ठूलो लगानी गर्नुपरेन । 

तपाईंले अभियानको सफलताबारे विस्तृतमै बताउनुभयो । अभियानमा जनताले देखाएको उत्साह, गुनासा, समस्या र अपेक्षा प्रशस्तै आएको कुरा पनि गर्नुभयो । अब ती कुरालाई एमालेले कसरी सम्बोधन गर्ला भन्ने आमप्रश्न वा जिज्ञासा छ ।

हामीले खासगरी प्रत्येक जिल्लामा सर्वदलीय, सर्वपक्षीय छलफलबाट पनि थुप्रै महत्वपूर्ण सुझाव, माग, ज्ञापनपत्र प्राप्त गरेका छौँ । त्यति मात्र होइन, आफ्नो समुदायगत हिसाबले पनि विभिन्न समूदायबाट सुझाव आएका छन् । ती सबै मागलाई काठमाडौं पुगिसकेपछि लिपिबद्ध गर्छौँ र त्यसका आधारमा पार्टीका तर्फबाट भविष्यको कार्ययोजनाका रूपमा पार्टीले अवलम्बन गर्ने नीति, योजनाका रूपमा सामेल गर्न छलफल गर्छौँ । वास्तवमा भोलिका दिनमा लोकतन्त्रलाई कसरी प्रभावकारी बनाउने, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई कसरी प्रभावकारी ढंगले पूरा गर्ने भन्ने सन्दर्भमा जनताका बीचबाट आएका सुझाव र मागपत्रले महत्वपूर्ण आधारका रूपमा काम गर्छन् । त्यसलाई हामीले मार्गदर्शनका रूपमा प्रयोग गर्ने सोच बनाएका छौँ । 

संसद्मा रास्वपा, जनमतसहितका दलको नयाँशक्तिका रूपमा उपस्थिति छ । एमाले र कांग्रेसजस्ता पार्टीले मुलुकलाई ठीक ढंगले नेतृत्व गर्न सकेनन् भन्ने जनअसन्तुष्टिको जगमा यि शक्ति उदाएको विश्लेषण गरिन्छ । तपाईंहरूको अभियानले जनतामा केही नयाँ उत्साह थप्यो त ?

अहिले हाम्रो अभियानको मूल नारा नै अब धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल र राष्ट्रिय शक्तिको निर्माण विकास र समृद्धिका लागि अपरिहार्य छ भन्ने हो । अब गठबन्धन होइन, एकल बहुमतको सरकार आवश्यक छ र त्यो नेकपा एमालेको नेतृत्वमा भयो भने मात्र मुलुकले सही बाटो लिन सक्छ भन्ने मान्यतामा छौँ । गठबन्धन भत्काएर बनाउने सरकारबाट समस्या समाधान भइहाल्छ भन्नेमा त्यति विश्वस्त छैनौँ । त्यसैले हाम्रा लागि मिसन ८४ नै मुख्य विषय हो । त्यसका लागि बलियो राष्ट्रिय शक्तिका रूपमा देशलाई सुदृढ गर्न जरुरी छ । किनकि, अहिले पनि एमाले लोकप्रिय पार्टी त हुँदै हो । तर, त्यो पर्याप्त छैन । त्यसलाई अझ सबल, सुदृढ बनाउनुपर्छ भन्ने दृष्टिकोणलाई अगाडि बढाएका छौँ । त्यसमा जनताको राम्रो साथ र समर्थन रहेको हामीले पाएका छौँ । 

तपाईंहरूले बारम्बार देश मध्यावधिमा जान सक्छ भन्ने संकेत गर्दै आउनुभएको छ । यो अभियान त्यतैतिर लक्षित छ कि, मिसन ८४ कै लागि हो भन्ने त त्यति प्रस्ट देखिएन नि ?

हामीले गठबन्धन सरकारका कारण मुलुक संकटमा जाँदै छ भन्ने संकेत गर्दै आएका छौँ । गठबन्धन कायम रहुन्जेलसम्म वा एकप्रकारले भन्ने हो भने अहिलेको हङ पार्लियामेन्टमा एमाले नेतृत्वमा आउँदा पनि धेरै सम्झौता गर्नुपर्ने हुन्छ र त्यसले विकास र समृद्धिको योगदान गर्न सक्दैन । त्यसका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ भन्ने नै हो ।

मध्यावधि त नेकपा एमालेको भूमिकामा भर पर्ने कुरा होइन । त्यो त गठबन्धनको असफलताबाट निशृत हुने विषय हो । त्यसैले अहिले हामीले बीचैमा मध्यावधि चुनावको विषयभन्दा पनि गठबन्धन असफल छ, कम्तीमा मुलुकलाई सही बाटो देखाउने हो भने मिसन ८४ मा अहिलेजस्तो कमजोर संसद् हुनुहुँदैन भन्ने प्रस्ट सन्देश दिइरहेका छौँ । अहिलेजस्तो कमजोर राज्य र सरकार हुनु हुँदैन बलियो राज्य, बलियो सरकार र पर्याप्त जनमतसहितको संसद् आवश्कता छ भन्ने मान्यतालाई नै हामीले जनताको बीचमा लिएर गएका छौँ । त्यो नै अभियानको महत्वपूर्ण पक्ष हो भन्ने ठान्छु । 

एमालेको अभियान कोशी प्रदेश प्रवेश गरेपछि पहिचानवादीहरूले छिटफुट अवरोध गर्ने कोसिस गरेको देखियो । खासगरी धनकुटाको लेगुवामा स्थानीय महेश राईले अध्यक्ष ओलीमाथि हातपातको प्रयास गरेको भिडियो पनि सामाजिक सञ्जालबाट बाहिरिएको थियो । त्यो घटनालाईचाहिँ एमालेले कसरी लिएको छ ?

सामान्यतया, त्यसलाई हामीले एउटा मदिरा सेवन गरेको व्यक्तिलाई लाइनबाट हटाउन खोज्दा विवादका रूपमा प्रकट भएको घटनाका रूपमा लिएका छौँ । यद्यपि, आमसञ्चार माध्यमहरूले त्यसलाई अध्यक्षमाथिकै आक्रमणका रूपमा पनि चर्चा गर्ने काम गरे । आक्रमणको प्रयास गरेको भनेको भए त्यो बेग्लै विषय हुन्थ्यो होला । आक्रमणै भएको भन्ने विषयका रूपामा जे प्रचार गरियो, त्यो गलत प्रचार थियो । वास्तवमा नशामा रहेका व्यक्तिले अवाञ्छित गतिविधि गरेको मात्रै हो ।

हामीले त्यही रूपमा लिएका छौँ । जहाँ हामी गयौँ, त्यहाँ जनताको अभूतपूर्व समर्थन, सहयोग रह्यो । यतिसम्म कि, तपाईंले चर्चा गरेकै ठाउँमा पनि हजारौँको संख्यामा जनता सहभागी भएर स्वागत गरिरहेका थिए । त्यो घटनाले स्वागत प्रक्रियामा कुनै असर पारेन । हामीले खासगरी धनकुटाको पाख्रीबासमा वैज्ञानिक र विद्यार्थीसँग गरेको अन्तर्क्रियामा त्यसले कुनै नकारात्मक असर पारेन । जति असर पर्‍यो, त्यो काठमाडौंमा गरिएका चर्चाले मात्रै के–के न भयो भनेजस्तो भयो । यात्रामा हिँडेकाहरू कसैले त्यसबारे कुनै अनुभूति नै गरेनन् ।

अभियानमा अध्यक्षसहित पदाधिकारी, स्थायी समितिका नेताहरू पनि देखिनुहुन्थ्यो । तर, सबै कार्यक्रममा अध्यक्षको मात्र सम्बोधन देख्दा अभियानलाई नै अध्यक्ष केन्द्रित गरेको हो कि, अध्यक्षलाई ब्रान्डिङ गरेको हो कि जस्तो पनि देखियो नि ?

अभियानको व्यवस्थापनका हिसाबले पनि त्यही जरुरी थियो । किनकि हामी समयको अत्यन्त दबाबमा थियौँ । एकैदिन धेरै कार्यक्रमहरूलाई सम्बोधन गरेर हिँड्नुपर्ने, सहभागी हुनेका चाहना पनि अध्यक्षको सम्बोधन सुन्न पाए हुन्थ्यो भन्ने नै हामीले पायौँ । यसर्थ, यात्राको नेतृत्व अध्यक्षले गरिरहँदा लामो समय अध्यक्षलाई प्रतीक्षा गरिरहेका मान्छेहरूलाई अध्यक्षकै तर्फबाट केही कुरा सम्बोधन गर्न लगाउने नै उचित हुन्थ्यो । हामीले त्यही गरेका हौँ । यद्यपि, हाम्रो उद्देश्यचाहिँ सभा समारोह होइन, यात्रा थियो । यात्राका क्रममा हामीले स्वागत गर्ने, आफ्ना गुनासा प्रस्तुत गर्नेहरूलाई पार्टी प्रमुखका तर्फबाट धन्यवाद दिने र सम्बोधन गर्ने सामान्य प्रक्रिया पूरा गरेका थियौँ । कहीँ पनि हाम्रो सम्बोधन १५–२० मिनेटभन्दा लामो रहेन । त्यस अर्थमा हामीले यसलाई अघिपछिको जस्तो समारोहका रूपमा लिनुहुँदैन । 

अध्यक्षले अभियानमा पर्याप्त मात्रामा सरकारको असफलता, राजतन्त्रको चलखेलबारे चेतावनीयुक्त सम्बोधन गरेको देखियो । के अब एमाले यो अभियानपछि सरकारको विकल्प खोज्न नयाँ समीकरण बनाउने काममा अग्रसर हुन्छ ?

अभियान त हामीले मूलतः समृद्धिमै केन्द्रित गरेका हौँ । जनताका गुनासा सुन्ने र जनतामा निराशा चिर्ने प्रयत्नकै रूपमा हामीले अगाडि बढाउन चाहेका थियौँ । त्यसमा हामी पूर्ण रूपमा सफल रह्यौँ भन्ने लागेको छ । जहाँसम्म अध्यक्षले समसामायिक राजनीतिका विषयमा बोल्ने कुरा स्वाभाविक रूपमै आवश्यक हुन्थ्यो । कतिपय विषयमा नबोल्दा किन बोलेन भन्ने हुँदा बोल्नैपर्ने परिस्थिति पनि सिर्जना हुन्थ्यो । त्यस हिसाबले पनि यात्राका क्रममा कतिपय राष्ट्रिय राजनीतिका विषय प्रस्तुत भएका छन् । तर, हाम्रो मूल उद्देश्य जनतासँग संवाद गर्ने, जनताको कुरा सुन्ने र जनतामा एकप्रकारले आशा जागृत गर्ने र जनतासँग पार्टीको सम्बन्ध जीवन्त बनाउने नै यो यात्राको उद्देश्य थियो । – बाँकी नयाँ पत्रिकाकामा

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search