
२१ पौष, काठमाण्डौं – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ जनालाई दिएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टीका तीन जना नेतालाई सर्वाधिकार दिइ गठबन्धनको बैठकमा पठाएको उनले बताए ।
उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो पार्टीले कति सिट संख्या प्राप्त गर्नेछ, कुन प्रदेशमा प्राप्त गर्नेछ र कुन क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सम्पूर्ण कुराको निर्णय गर्ने सर्वाधिकारसहित पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई अधिकार दिइ सचिवालयले उहाँहरुलाई गठबन्धनको बैठकमा पठाएको छ ।’