
२१ पौष, काठमाण्डौं – गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ ।
मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बरहथवा घटना सम्बन्धमा सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको जानकारी दिए ।
त्यस्तै मन्त्रालयले सो घटनामा मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ ।
अस्पताल स्तरोन्नति गर्ने/नगर्ने विषयमा शुक्रबार छलफलमा विवाद उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर साहको मृत्यु भएको थियो । उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म कर्फ्यु आदेश जारी गरिएको थियो । अहिले त्यस क्षेत्रमा निषेधाज्ञा जारी छ ।