वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ। ललितपुर र काठमाडौंमा नौं-नौं जना र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो।
उपत्यकाबाहिर ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार ९४७ सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानले १६२ स्थानमा भौतिक क्षति भएको छ। सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा बोट परिचालन गरेको छ।
सशस्त्रको टोलीले ७६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो। काठमाडौंमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन-तीन, पाँचथर र धनकुटामा दुई-दुई, झापा र धादिङमा एक-एक जनाको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा वीपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपांगता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।