
दक्षिण कोरियाको प्रतिष्ठित एवं अग्रणी वित्तीय संस्था शिन्हान बैंकले सेप्टेम्बर ३० तारिखदेखि विदेशी नागरिकहरूको वित्तीय आवश्यकतालाई लक्षित गर्दै कम ब्याजदरमा विशेष ऋण सेवा सुरु गरेको छ।
यस योजनामार्फत योग्य विदेशी ग्राहकहरूले अधिकतम २० मिलियन वोन (झण्डै २० लाख नेपाली रुपैयाँ) सम्मको ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले यो सेवा आफ्ना ग्राहकहरूलाई सजिलो र सुरक्षित वित्तीय पहुँच दिलाउनका साथै कोरियामा कार्यरत विदेशी समुदायको आर्थिक स्थायित्व र जीवनस्तर सुधार गर्ने उद्देश्यले प्रारम्भ गरेको बताइएको छ।
शिन्हान बैंकका अनुसार उक्त ऋण योजनामा ब्याजदर न्यूनतम ९.६९ प्रतिशतदेखि अधिकतम ११.६९ प्रतिशतसम्म रहनेछ। सेवा प्राप्त गर्न योग्य भिसा श्रेणीमा E-9 (साधारण विदेशी श्रमिक), E-7 (दक्ष कामदार), F-2 (स्थायी बसोबास अनुमति) र F-5 (स्थायी आवास अनुमति) रहेका विदेशी नागरिकहरू पर्छन्।
ऋण सुविधा पाउनका लागि आवेदकले शिन्हान बैंकमा खाता खोलेको कम्तीमा तीन महिना पूरा भएको हुनुपर्नेछ। त्यस अवधिमा तीन महिनाको तलब नियमित रूपमा सोही खातामा जम्मा भएको प्रमाणित गर्नुपर्नेछ।
शिन्हान बैंकले हाल कोरियामा बसोबास गर्दै आएका नेपाललगायतका विभिन्न देशका श्रमिक तथा पेशेवरहरूलाई बैंकिङ पहुँचमा समावेश गर्न निरन्तर पहल गर्दै आएको छ।
शिन्हान बैंकले विगतदेखि नै विदेशीहरूका लागि बैंक खाता, अन्तर्राष्ट्रिय मनी ट्रान्सफर, र वित्तीय परामर्श जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ। नयाँ ऋण योजनाले कोरियामा कार्यरत विदेशीहरूका स्वप्न र आवश्यकतालाई पूरा गर्ने अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
विदेशी ग्राहकहरूले ऋण आवेदन, योग्यता र अन्य विस्तृत जानकारीका लागि शिन्हान बैंकको केन्द्रीय कार्यालयमा कार्यरत नेपाली प्रतिनिधि एवं सहायक म्यानेजर हेमलता शर्मासँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।
सम्पर्क नम्बर: 010-8857-5857
