
दक्षिण कोरियामा क्रियाशील नेपाली सञ्चारकर्मीहरूको साझा तथा छाता संगठन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले संस्थागत संरचना मजबुत बनाउन तथा आउँदो आठौँ अधिवेशनलाई सफल बनाउने उद्देश्यसहित साधारण सदस्यता आवेदन प्रक्रिया सुरु गरेको घोषणा गरेको छ। महासंघको केन्द्रीय विधानका प्रावधानअनुसार आवश्यक कार्यविधि पूरा गर्दै नयाँ सदस्य समावेशीकरण औपचारिक रुपमा प्रारम्भ गरिएको शाखाले जनाएको छ।
शाखाका अनुसार २०२५ नोभेम्बर १९ देखि ३० सम्म साधारण सदस्यता आवेदन दिन सकिनेछ। पत्रकारिता पेशामा संलग्न व्यक्तिहरू, विभिन्न समुदाय तथा पहिचान समूहका सञ्चारकर्मीहरू, साथै पत्रकारिताको विकासमा योगदान पुर्याइरहेका अन्य व्यक्तिलाई प्राथमिकताका आधारमा सदस्यता प्रदान गरिने उल्लेख गरिएको छ। सदस्यता शुल्क १ लाख कोरियन वन तोकिएको छ।
सदस्यता लिन इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण, पत्रकारितासम्बन्धी अनुभव प्रमाण, शैक्षिक योग्यताको कागजात तथा शुल्क बुझाएको रसिद संलग्न गरी fnjkorea18@gmail.com मा पठाउनुपर्नेछ। सूचनामा भनिएको छ— “दक्षिण कोरियामा सक्रिय सबै पत्रकारहरूको सशक्त एकता, सहकार्य र संस्थागत विकास नै हाम्रो मूल लक्ष्य हो। त्यसअनुरूप सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रक्रियालाई व्यवस्थित र सहज बनाइएको छ।”
यससँगै शाखाले कोरियामा रहेका सम्पूर्ण नेपाली पत्रकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूसमक्ष आगामी आठौँ अधिवेशनमा सहभागिताको लागि विशेष आह्वान गरेको छ।
अधिवेशन कार्यक्रम २०२६ को जनवरी ११ तारिख आइतबारका दिन दिउँसो १२ बजेबाट राजधानी सौलको दुङ्देमुन सहरको ‘सेमाउल’ बैंकको पाँचौं तलामा आयोजना हुने बताइएको छ।
शाखाले अधिवेशनलाई दक्षिण कोरियामा कार्यरत नेपाली सञ्चारकर्मीहरूको साझा पर्व, संवादको अवसर र संस्थागत सुदृढीकरणको महत्वपूर्ण मञ्चका रूपमा वर्णन गर्दै सबैको सम्मानित उपस्थितिको अपेक्षा व्यक्त गरेको छ।

